इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीले ११ अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले स्वान्सी सिटीलाई ३–१ ले हरायो । चेल्सीको जितमा सेस फाब्रिगास, पेड्रो र डिएगो कोस्टाले गोल गरे । यस्तै स्वान्सी सिटीका लागि फर्नान्डो लोरेन्टेले एक गोल फर्काए । १९ औं मिनेटमा फाब्रिगासले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए । फाब्रिगासले प्रिमियर लिगमा आफ्नो तीन सयौं खेलमा गोल गरेका हुन् । पहिलो हाफको इन्जुरी समयमा लोरेन्टेले स्वान्सीका लागि गोल गरेपछि खेल १–१ को बराबरीमा आयो । दोस्रो हाफमा चेल्सीले थप दुई गोल ग¥यो । ७२ औं मिनेटमा पेड्रो तथा ८४ औं मिनेटमा कोस्टाले गोल गरेपछि चेल्सी ३–१ ले विजयी भयो । कोस्टाले प्रिमियर लिगको यो सिजनमा अहिलेसम्म १६ गोल गरिसकेका छन् । जितपछि शीर्ष स्थानको चेल्सीको २६ खेलबाट ६३ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५२ तथा तेस्रो स्थानको टोटनह्याम र चौथो स्थानको आर्सनलको समान ५० अंक छ । राति नै भएका अरु खेलमा एभर्टनले सन्डरल्याण्डलाई २–०, क्रिष्टल प्यालेसले मिडल्सबर्गलाई १–० तथा वेष्ट ब्रोमले बोर्नमाउथलाई २–१ ले हरायो । यस्तै वाट्फोर्ड र वेष्ट ह्याम तथा हल सिटी र बर्नलीले समान १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।