काठमाडौं/ नेपाली क्रिकेट प्रशिक्षक राजु बस्न्यात दक्षिण कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । कोरीयाले बस्नेतलाई आफ्नो पुरुष र महिला दुबै टोली हेर्ने गरी मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ | यससँगै बस्न्यात बिदेशी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने (टीम गेममा) पहिलो नेपाली प्रशिक्षक बनेका छन् । अन्य खेलमा भने यस अघि टेवल टेनिसका सुरेन्द्र सुवालले भुटानको राष्ट्रिय टोली सम्हालेका थिए । सुरेन्द्रको नेतृत्वमा भुटानले अन्तर्राष्ट्रिय प्रतियोगिता समेत खेलेको थियो । प्रशिक्षक बस्न्यातले कोरीयाको मुख्य प्रशिक्षकका लागि आफुले हस्ताक्षर गरीसकेको जानकारी दिए । ‘केही समय अघि प्रशिक्षकका लागि आबेदन मागिएको थियो । त्यसमामा मैले पनि प्रयास गरेको थिए’, प्रशिक्षक बस्न्यातले भने, ‘त्यसमा छनोट भएपछि मैले सम्झौता समेत गरीसकेको छु ।’ बस्न्यातका अनुसार कोरियाले उनलाई आगामी एक बर्षका लागि मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको हो ।

अर्काे बर्ष अगस्ट र सेप्टेम्बरमा इन्डोनेशीयामा हुने एसियाली खेलकुदको तयारीमा रहेको कोरियाले आफ्नो क्रिकेट टोलीका लागि बस्न्यातलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । दक्षिण कोरियाले आफ्नो टोलीका लागि बस्न्यातसहित दुई अष्ट्रेलियन प्रशिक्षक पनि नियुक्त गरेको छ । अष्ट्रेलियन प्रशिक्षकबारे जानकारी नगराईएपनि उनिहरुले मुख्य प्रशिक्षक बस्न्यातकै नेतृत्वमा रहेर काम गर्ने बुझीएको छ ।