स्पेनिस ला लिगा अन्तर्गत बिहीबार बिहान सकिएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले स्पोर्टिङ  गिजोनलाई ६–१ गोल अन्तरले हराएको हो । बार्सिलोनाका लागि स्टार स्ट्राइकर लिओनल मेस्सी, लुइस स्वारेज र नेइमारले गोल गरे । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा  मेस्सीले ९ मिनेटमा हेडिङ गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यस्तै जुआन रोड्रिगेजले ११ मिनेटमा आत्मघाती गोल गरे ।  लुइस  स्वारेजले २७ मिनेटमा गरेको गोलका कारण पहिलो हाफमा नै बार्सिलोनाले ३–१ को अग्रता बनाएको थियो ।  दोस्रो हाफमा बार्सिलोनाका लागि पाको अल्कासेरले ४९, नेइमारले ६५ र इभान रेकिटिकले ८७ मिनेटमा गोल गरे ।
स्पेनिस ला लिगाको रेलिगेसन जोनमा रहेको स्पोर्टिङ गिजोनका लागि कारर्लोस क्यास्ट्रोले एक गोल गरे ।  स्पोर्टिङ गिजोनलाई फराकिलो अन्तरले हराएसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले २५ खेलमा ५७ अंक जोडेको छ । यस्तै दोस्रो स्थानमा रहेको रियल मड्रिडको  ५६ अंक छ । रियल मड्रिड लास पालमससँग ३–३ को बराबरीमा रोकिएको छ । राति नै भएका अरु खेलमा भिल्लारियलले ओसासुनालाई ४–१ ले र ग्रानडाले अल्भेसलाई २–१ ले हराए । सेल्टा डि भिगो र स्पानियोलले भने २–२ को बराबरी गरे ।