बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल प्रशासनले कारबाही प्रक्रिया अघि बढाएपछि कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन्। उनीहरू झारा टार्ने किसिमले बिदाको निवेदन बुझाएर सम्पर्कविहीन थिए । अस्पतालका १९ स्थायी कर्मचारीमध्ये ९ जनाले राजीनामा दिएका छन् ।

सेवा प्रभावित हुने गरी लामो समय सम्पर्कबाहिर बसेको भन्दै एक महिनाअघि अस्पताल प्रशासनले सूचना जारी गरी कारबाही प्रक्रिया अघि बढाएपछि राजीनामा दिन थालेका हुन् । आधाजसोले विदेशमा स्थायी बसोबास अनुमति (पीआर) पाएका छन् । केही नेपालमै भए पनि सम्पर्कमा छैनन् ।

उनीहरूको राजीनामा अस्पताल प्रशासनले स्वीकृत गरिसकेको छ । राजीनामा दिएकाले व्यक्तिगत कारण देखाएका छन् । केहीले अध्ययनका लागि बाहिर गएको खुलाएका छन् ।

विदेश रहेकाले फ्याक्स र आफन्तमार्फत राजीनामा बुझाएको अस्पतालले जनायो । उनीहरू एक वर्षअघि बिनाजानकारी अस्पताल आउन छाडेका थिए । स्थायी कर्मचारीले बिदा स्वीकृत अनिवार्य गराउनुपर्छ ।

अस्पतालले जारी गरेको सूचनाको अवधि सकिए पनि उनीहरू सम्पर्कमा छैनन् ।

अस्पतालका अध्यक्ष डा. प्रकाश न्यौपानेले समयमा नआउने कर्मचारीलाई भविष्यमा अयोग्य ठहरिने गरी अस्पतालको कर्मचारी प्रशासन नियमावली २०६६ परिच्छेद १३ को १३१ को ९ग० मा उल्लेख भएअनुसार सेवाबाट हटाइने बताए ।

‘हामीले सूचना जारी गरिसकेको अवस्था छ,’ उनले भने, ‘सूचना जारी भएको समयभित्र हाजिर हुन भनेका हौं, सम्पर्कमा नआउनेलाई त्यहीअनुसार कारबाही अघि बढाउँछाैं ।’ यसरी बिदा स्वीकृत नगरी बाहिर बस्ने अधिकांश स्टाफ नर्स छन् । जानकारीबिना हिंडेका कर्मचारीमध्ये १० जना बढी विदेशमा छन् ।

९ जना सम्पर्कविहीन छन् । अस्पतालका नर्सिङ प्रमुख अनिता देवकोटाले बिरामीको चाप बढेको र दरबन्दीका नर्स बाहिर रहेकाले समस्या भएको बताइन् । ‘कर्मचारीहरू लामो समयसम्म बाहिर बस्दा सेवा प्रभावित हुन्छ,’ उनले भनिन्, ‘२४ सै घण्टा खट्नुपर्ने नर्स नै कम भएपछि अप्ठ्यारो भएको छ ।’