इटहरी/ इटहरीमा शुक्रबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगित शूरु भएको छ । उद्घाटनका दिन भएका दुई वटा खेलमा पूर्वाञ्चल र पश्चिमाञ्चल टीमले विजयी यात्रा शूरु गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र इटहरी क्रिकेट एकेडेमीको स्थानीय व्यवस्थानमा भएको प्रतियोगिताको उद्घाटन पूर्व पर्यटन मन्त्री भीम आचार्यले गरेका थिए ।

उद्घाटनको पहिलो खेलमा पूर्वाञ्चलले मध्यमाञ्चललाई फराकिलो रनले पराजित गरेको थियो । पहिला व्याटिङ गरेर २० ओभरमा तीन विकेट गुमाउँदै पूर्वाञ्चलले १ सय २४ रन बनायो । जसमा पूर्वाञ्चलका लागि अप्सरी वेगमले ४६, रुमा थापाले ४२ रन बनाएका थिए । मध्यमाञ्चलको लागि आरती विडारीले २ विकेट लिइन् ।

जवाफी व्याटिङमा मध्यमाञ्चल टीम ४७ रनमा अलआउट भएको थियो । २० ओभरको खेलमा मध्यमाञ्चल १३ ओभारमा समेटिदै ४७ रनमा सिमित भएको थियो । पूर्वाञ्चलका लागि रुविना क्षेत्रीले ३ विकेट लिइन् । प्लयेर अफ द म्याच पूर्वाञ्चलकी रोमा थापा भइन् ।दोस्रो खेलमा पश्चिमाञ्चलले मध्य मश्चिमाञ्चललाई ४ विकेटले पराजित गर्यो ।

पहिला व्याटिङ गरेको मध्य पश्चिमाञ्चल टीमले निर्धारित २० ओभरमा ६५ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा आएको पश्चिमाञ्चलले १७ ओभरमा ६ विकेट गुमाउँदै विजयी लक्ष्य पुरा गरेको आयोजकले जनाएको छ । त्यस खेलमा प्लेयर अफ द म्याच पश्चिमाञ्चलकी नितु भण्डारी भइन् ।

प्रतियोगिता अन्तरगत शनिबारका खेल पूर्वाञ्चल भर्सेज सुदुर पश्चिमाञ्चल र दोस्रो खेल विभागीय टीम शसस्त्र प्रहरीको एपीएफ भर्सेज मध्य पश्चिमाञ्चल बीच हुने आयोजक समितिका सिपी पौडेलले जानकारी दिए । प्रतियोगिता इटहरीस्थित डिभीएम स्कुलको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

प्रतियोगितामा राष्ट्रिय स्तरका ६ वटा क्रिकेट महिला टिमको सहभागिता रहेको छ प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने र उप विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने इटहरी क्रिकेट एकेडेमीका सीपी पौडेलले जानकारी दिए ।