गर्भनिरोधका लागि बनाइएका नयाँ–नयाँ साधन तथा औषधिहरुलाई माथ दिने गरी जर्मनीका एक वैज्ञानिकले नयाँ प्रविधिको आविष्कार गरेका छन् । जुन प्रविधि यस्तो छ कि ‘स्विच अफ’ गरेपछि शुक्रकीट बहन नै अवरुद्ध हुन्छ । जब ‘स्विच अन’ हुन्छ शुक्रकीट पहिले जस्तै यथास्थितिमा बहन सुरु हुन्छ ।

जर्मनीका वैज्ञानिक क्लिमेन्स विमेकले बनाएको ‘विमेक एसएलभी’ नामक यन्त्रले स्विच दबाउँदा ‘भास डिफरेन्स’( शुक्रबाहिनी नली) बन्द गरिदिन्छ । जसका कारण शुक्रकीटको बहन नै हुँदैन । जब ‘स्विच अन’ हुन्छ, शुक्रकीटको बहन यथास्थितिमा देखिन्छ ।

वैज्ञानिक विमेकले यो यन्त्रलाई गर्भनिरोधक यन्त्रसमेत भनेका छन् । उनले जन्मान्तरका लागि गरिने स्थायी वा अस्थायी बन्ध्याकरणको विकल्पको रुपमा यो मेसिन ल्याइएको बताएका छन् । विमेक आफैले पनि यो यन्त्रको पुरानो स्वरुप सन् २००९ देखि प्रयोग र परीक्षण गरिरहेका थिए । सन् २००९ देखि यताको ६ वर्षसम्म उनले यो यन्त्रलाई परिमार्जनसमेत गर्दै आएका छन् ।

पुरुषको अण्डकोषको थैलीभित्र छिराउन सकिने सानो आकारमा रहेको यो यन्त्र पिक अप्टिमा भनिने एक प्रकारको पोलिमरबाट बनाइएको हो । यो यन्त्र १.८ सेन्टिमिटर लामो र दुई ग्राम तौल भएको बताइएको छ । अण्डकोषमा यो यन्त्र हाल्न करिब ३० मिनेट लामो सर्जरी गर्नुपर्ने हुन्छ । र दुई–तीनदिनमै सामान्य अवस्थामा आउँछ ।

विमेकका अनुसार स्विच अफ गरी यौनसम्पर्क गर्दा हुने आनन्दमा कुनै कमी हँुदैन, मात्रै पार्टनरमा शुक्रकीट प्रवेश गर्दैन । त्यसकारण यसलाई गर्भनिरोधक मेसिनको उपमा दिइएको हो ।यो यन्त्र प्रयोग गर्दा उनको शुक्रकीटको संख्या नघटेको उनी आफै बताउँछन् । विमेक भन्छन्, ‘यो यन्त्र प्रयोग गर्दा ममा कुनै स्वास्थ्य समस्या देखिएको छैन । यो अण्डकोषमा झुण्ड्याउँदा यो बोकेको आभास समेत हुँदैन । र म यो मेसिन जिन्दगीभर प्रयोग गर्नेछु ।’

बजारमा यो यन्त्र ल्याउनुअगाडि विभिन्न तहको परीक्षण गर्नुपर्ने हुन्छ । त्यसैले अहिले विमेक र उनका सहयोगी यस्ता युवाको खोजीमा छन् । जो यो परीक्षणका लागि राजी हुन्छन् । यद्यपि उनले यही वर्ष २५ जनामा यो यन्त्रको परीक्षण गर्ने तयारी भएको बताएका छन् । –एजेन्सीको सहयोगमा