विराटनगर/ विराटनगरमा रहेको मोरङ सहकारीले अस्पताले नारी दिवसको अवसर पारेर आमा सुरक्षा कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुको सम्पूर्ण उपचार निःशुल्क हुनेछ । प्रसुती गराउने महिलाहरुको नर्मलदेखि शल्याक्रियासम्मको सबै उपचार निःशुल्क रुपमा मोरङ सहकारी अस्पतालमा हुने भएको हो ।
यसैगरी महिलाहरुमा हुने आङ्ग खस्ने समस्याको उपचार समेत केहि समयको लागि सहकारी अस्पतालमा निःशुल्क गरिएको छ । सरकारको योजना अन्तर्गत आङ्ग खस्ने महिलाको निःशुल्क शल्याक्रिया सहकारी अस्पतालबाट हुने भएको हो । सहकारी अस्पतालले यस्ता समस्याबाट पीडित ५० जना महिलाको शल्याक्रिया निःशुल्क गर्ने अनुमति पाएको छ ।
सरकारको कार्यक्रमलाई आफ्नो अस्पतालमार्फत सञ्चालनमा ल्याउन लागिएको बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा मोरङ सहकारी अस्पतालका सचिव चुणामनी आचार्यले सरकारको योजना अनुसार मृगौला रोगीहरुको लागि निःशुल्क डायलासिश कार्यक्रम समेत अस्पतालबाट सुरु गरिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार अब प्रसुति हुन आउने आमाहरुको नर्मल, शल्याक्रिया, भर्ना अवधिको बेड शुल्कदेखि औषधीसम्म निःशुल्क हुने अस्पतालका सञ्चालक विकास अधिकारीले जानकारी दिए । उना अनुसार अस्पतालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.बालकृष्ण साहको टोलिले विरामीको उपचार गर्नेछ । यसैगरी आङ्ग खस्ने महिलाहरुको समेत निःशुल्क उपचार हुनेछ । भने, डायलासिश गराउने विरामीको समेत निःशुल्क हुनेछ । महिलाहरुको उपचारका लागि अस्पतालले विभाग नै तयार गरेर उपचार गर्ने भएको हो ।