धरान/धरानका बाल क्लबहरुलाई समावेश गरेर दुईदिने भित्ते पत्रिका लेखन तालिम प्रदान गरिएको छ । धरान उपमहानगरपालिकाले शुक्रबारदेखि तालिम सुरु गरेको थियो ।
शनिबार सम्पन्न तालिमको धरानका ६ वटा बाल क्लब सहभागी गराएर भित्ते पत्रिका लेखन सुरु भएको हो । क्लवहरुबीच गरिएको प्रतियोगितामा लालीगुरास भिते पत्रिका प्रथम बनेको छ ।
त्यस्तै हातेमालो दोस्रो बनेको छ । विजेता क्लवहरुलाई नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, प्रशिक्षकद्वय ब्लाष्टका सम्पादक किशोरकुमार कार्की, यज्ञ शर्माले पुरस्कार वितरण गरे ।
कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका काफ्लेले आफ्नो पत्रकारिताको सुरुवात भित्ते पत्रिका लेखनबाटै भएको बताए । धरानलाई वालमैत्री सहरको रुपमा विकसित गर्न धरान उपमहानगरले भित्ते पत्रिका लेखन तालिम प्रदान गरेको सामाजिक विकास शाखाका अधिकृत सुनिल नेपालले बताए ।
यस्ता कार्यक्रमलाई निरन्तर दिनको लागि प्रमुख प्रशिक्षक कार्कीले आयोजकलाई आग्रह गरे । तालिममा सहभागी रमेश खड्काले तालिमले आफूलाई उर्जा मिलेको बताए ।