धरान/ हिन्दू धर्मालम्बीहरूको महान् पर्व होली सोमबार बिहानैदेखि तराईका पूर्वी क्षेत्रमा उत्साहका साथ मनाइएको छ । सामाजिक सद्भाव अभिवृद्धि गर्नु, सबै खुसियालीपूर्वक होली मनाउनु, विगतका वैमनस्यतालाई बिर्सेर नयाँ सम्बन्ध बनाउनु नै यस पर्वको मुख्य उद्देश्य रहेको छ ।
बिहानैदेखि पूर्वका शहर तथा ग्रामीण क्षेत्रमा धुमधामका साथ विभिन्न रङका साथ पर्व मनाइएको छ । विराटनगरबजारका मुख्य तथा सहायक सडकहरू युवायुवतीका साथै सर्वसाधारण आ(आफ्ना चिरपरिचितसँग एकापसमा अबिर दलेर होली खेलिरहेका छन् । छठ पर्वमा ठेकुवाको महत्व हुन्छ भने होली पर्वमा मालपुवा र दालपुरीको विशेष महत्व हुन्छ । होली पर्व मनाउनेहरू अनिवार्य रूपमा मालपुवा पकाएर घरको देउतालाई चढाउने गर्छन् ।। यस पर्वमा अधिकांश व्यक्तिहरू मासु पकाएर खाने गर्छन् । सो कारणले विराटनगर विभिन्न टोलका साथै चोकचोकका मासुपसलमा उपभोक्ताको भिड लागेको छ ।। पहाडी जिल्लामा फागुपूर्णिमाका दिन अर्थात् हिजो होली खेलेर होलीका दहन गरी पर्व सम्पन्न गर्छन् भने तराईका जिल्लामा फागुपूर्णिमाका दिन अर्थात् बेलुकीको समयमा होलीका दहन गरी बिहान होली पर्व मनाउने गरिएकाले आज यो पर्व मनाइएको हो ।। यस पर्वका अवसरमा अप्रिय घटना हुन नदिन व्यापक रूपमा प्रहरी परिचालन गर्नुका साथै सादा पोसाकमा पनि प्रहरी खटाइएको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो ।। मोरङमा अहिले मध्याह्नसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।। यस्तै रंगहरुको पर्व होलीलाई सद्भावपूर्ण बनाउन सोमबार मोरङको पथरीशनिश्चरे र झापाको दमकमा पत्रकारहरुले होलीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।। नेपाल पत्रकार महासंघ पथरीशनिश्चरे सम्पर्क कार्यालय र आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को संयुक्त आयोजनामा भएको कार्यक्रममा रंग दलेर उत्तरपूर्वी मोरङका पत्रकारबीचको सद्भावलाई कसिलो बनाउने शुभकामना आदान प्रदान गरिएको छ । त्यस्तै, स्थानीय रेडियो सिम्रिकले पनि साँस्कृतिक कार्यक्रम सहित होलीको सद्भाव बाँडेको छ ।। पथरी जेसीजले पनि सदाका वर्ष झैं यसवर्ष पनि पथरी चोकमा होलीको साँस्कृतिक कार्यक्रम गरेको छ । हल गाइज युवा क्लव सहितका संघ संस्थाले पनि उसैगरी होलीमा रंग खेलेर रमाउँदै सद्भाव र एकताको सन्देश दिएका छन् । जिल्लाको उर्लाबारीमा उर्लाबारी जेसीज, उर्लाबारी युवा समूहले अलग अलग रुपमा होली मनाएका छन् ।। झापामा पहाडी क्षेत्रको विदाको दिन पारेर हिजै होली विदा दिएपनि तराईमा पर्ने जिल्लावासीले आज होली मनाएका छन् । दमकमा दमक जेसीज र पत्रकार मञ्चको संयुक्त आयोजनामा अघिल्ला वर्ष झैं यस वर्ष पनि होली मिलन कार्यक्रम सम्पन्न भएको छ । सवाल नेपाल डटकम, सर्वाेदय स्कुल र नेपाली वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा उसैगरी होलीलाई साहित्यिक र साँस्कृतिक रुपमा रमाइलो बनाइएको छ । पाथीभरा चित्र मन्दिरले पनि होली विशेष कार्यक्रम गरेको छ ।तस्विरहरु उपेन्द्र चाम्लिङ÷देबेन्द्र कार्की÷ मदनबाबु प्रसाई÷भूपेन्द्र तिम्सिना÷दिनेश सुब्वा÷विभिन्न सामाजिक सञ्जाल