काठमाडौं/ यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु हुँदैछ । परीक्षाको पहिलो दिन बिहीबार ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।

परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरि ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुँदैछन् ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार माध्यमिक शिक्षा परीक्षाको लागि देशभर कुल १ हजार ९ सय २३ केन्द्र निर्धारण गरिएको छ ।

परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र कार्यालय सहायक गरि ६७ हजार ५ सय ९१ कर्मचारी खटाइएको छ ।

परीक्षालाई मर्यादित बनाउन परीक्षा नियन्त्रण कार्यालयले झन्डै २९ हजार सुरक्षाकर्मीसहित ६७ हजार भन्दा धेरै कर्मचारी परिचालन गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले निम्न खालका क्रियाकलाप गरेमा एक लाख रुपैयाँ जरिवाना, ६ महिना जेल वा दुवै सजाय हुन सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रश्नपत्रको गोपनियता भंग गरेमा, गर्न लगाएमा वा सो कार्य गर्न सहयोग पुर्‍याएमा,परीक्षाकेन्द्रमा सम्बन्धित अधिकारीको स्वीकृतिवेगर प्रवेश गर्न प्रयत्न गरेमा, प्रवेश गरेमा र गर्न लगाएमा वा सो कार्य गर्न सहयोग पुर्‍याएमा,परीक्षा केन्द्र नियन्त्रणमा लिएर अमर्यादित कार्य गरेमा, गर्न लगाएमा वा त्यस्तो कार्य गर्न सहयोग पुर्‍याएमा,अरुको तर्फबाट परीक्षा दिएमा, दिन लगाएमा र सो कार्य गर्न सहयोग पुर्‍याएमा,परीक्षा मर्यादा भंग हुने कुनै कार्य गरेमा, गर्न लगाएमा वा सो कार्य गर्न सहयोग पुर्‍याएमा ।