भद्रपुर / स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड परिमार्जन गर्नुपर्ने भन्दै अल नेपाल होमियोप्याथिक एशोसिएसनको पूर्वाञ्चल क्षेत्रीय समितिले स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । समितिका अध्यक्ष डा योगेन्द्र राई तथा सचिव खगेन्द्र ओली नेतृत्वको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीमार्पmत् स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा राष्ट्रिय आयुर्वेद तथा पूरक चिकित्सा नामकरण भएकोमा राष्ट्रिय आयुर्वेद, होमियोप्याथिक तथा पूरक चिकित्सा हुनुपर्ने वा होमियोप्याथिक चिकित्साको छुट्टै व्यवस्था गरिनुपर्ने, निर्देशिकाले स्नातक वा स्नातकोत्तर उपाधि हासिल गरेकालाई मात्र दिएकोले आवश्यक जनशक्ति उत्पादन नभएको अवस्थामा स्वास्थ्य सहायकले स्वास्थ्य सेवा प्रदान गर्न पाउनुपर्ने, शैक्षिक योग्यताभन्दा पनि अनुभवीलाई राज्यबाट वैकल्पिक व्यवस्था नगरी हटाउन नहुनेलगायतका माग गरिएको सचिव ओलीले बताए । मागलाई बेवास्ता गरिए आन्दोलनका कार्यक्रम चलाउन बाध्य हुने उनले बताए । राज्यले कुनै मापदण्ड नदिई दुःखमात्र दिने गरेकोले किटान गरेर मार्गदर्शन गर्नुपर्ने उनको भनाइ छ । होमियोप्याथिक उपचार पद्धतिको विकासको लागि सरकारले अध्ययन तथा लगानी नगरेको कारण निजी स्तरबाट सञ्चालित विराटनगर र भक्तपुरमा रहेका होमियोप्याथिक मेडिकल कलेज बन्द भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । नेपाल सरकारले जारी गरेको निर्देशिका वरदान नभई अभिशाप भएको जनाउँदै समितिले घोर निन्दा गरेको छ । ज्ञापनपत्र बुभ्mदै प्रजिअ खत्रीले देखिएका समस्या समाधान गर्न छलफलका लागि सहयोग गर्ने भन्दै ज्ञापनपत्र मन्त्रालयमा पठाइने जनाए । ज्ञापनपत्रमा देवीप्रसाद पौडेल, बद्रीप्रसाद अधिकारी, डा लेखनाथ न्यौपाने, कमलप्रसाद सुवेदी, योगेश कोइराला, घनश्याम सुवेदीलगायतले हस्ताक्षर गरेका छन् ।