चतरा / रामानन्दचार्य सेवापीठ चतराधामका १००८ श्रीवैष्णव कृष्णदासजी महाराज फेरि पनि नौ दिन भूसमाधिमा रहने भएका छन् ।
रामनवमी र हनुमान जयन्तीको अवसरमा रामानन्दचार्य सेवापीठको आयोजनामा बुधबारबाट शुरू भएको १५ दिने रामनवमी तथा हनुमान जयन्ती महोत्सवको पहिलो दिनबाट पीठका संरक्षक समेत रहेका कृष्णदासले खण्ड भूसमाधि गर्ने कार्यक्रम रहेको पीठले जनाएको छ । रामनवमीको समयमा समाधि गर्दै आइरहेका कृष्णदास यसअघि नेपालमा दुईपटक र भारतमा तीनपटक भूसमाधिमा बसिसकेका छन् । महोत्सवमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ६ सय साधक सहभागी हुने पीठका अध्यक्ष गणेश सुब्बा विरहीले बताए । सेवापीठले सञ्चालन गर्दैआएको पाशुपत सिद्ध महायोग ध्यान साधनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका साधकहरू सहभागी हुने पीठका गोविन्दबाबु तिवारीले जानकारी दिए । भारतको दिल्ली, महाराष्ट्र, उत्तराखण्ड, राजस्थान तथा अमेरिका, बेलायत र क्यानडाका साधकहरू पनि १५ दिने महोत्सवमा सहभागी हुने पीठले बताएको हो । प्राचीन हरिद्वारलाई धार्मिक पर्यटकीय क्षेत्र र आयुर्वेद शिक्षालय बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको कृष्णदासजी महाराजले बताए । यसका लागि उनले गुरूयोजना समेत सार्वजनिक गरिसकेका छन् ।