धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयुमा कार्यरत हेल्थ हेडले ५८ हजार रुपैयाँ ठगी गरेको एक बिरामीका आफन्तले आरोप लगाएका छन् ।
उपचार गराइदिने नाममा हेल्थ हेड विना शर्माले सप्तरीको शम्भुनाथ नगरपालिका–३ का भुलक मण्डलको ५८ हजार रुपैयाँ लगेको अरोप लगाइए पनि शर्माले भने यसलाई अस्वीकार गरेकी छन् ।
उनले भनिन्, ‘ हस्पिटलकाे आईसीयुमा तीन दिन राखेर उपचार गर्दा पैसा खर्च भएको छ ।’ मण्डलले बुहारी विमलालाई प्रसुती गराउन गत फागुन २४ गते प्रतिष्ठानमा ल्याएका थिए ।
निम्न आर्थिक अवस्था भएका उनले प्रतिष्ठानले निःशुल्क उपचार गरिदिने कुरा डाक्टर मार्फत थाहा पाएपछि आपूm ठगिएको थाहा पाएका थिए । उनले प्रतिष्ठान प्रशासनमा समेत उजुरी दिएका छन् । प्रशासनले यसबारे छानविन गरिरहेको छ ।
मण्डलले पटक–पटक गरेर ५८ हजार रुपैयाँ उनलाई दिएको दावी गरेका छन् । निःशुल्क उपचार पाएको थाहा पाएपछि मण्डल पैसा बराबरको बिल दिन र पैसा फिर्ता माग्न गएका थिए ।
तर, शर्माले ‘पैसा दिएको के प्रमाण छ ?’ भन्दै धम्क्याएपछि बाध्य भएर अस्पताल प्रशासनको शरणमा पुगेको उनले बताए । ‘अप्रेसन बिल तिरिदिएँ, एम्बुलेन्समा पनि तिरिदिएँ ।
ब्लड पनि ल्याइदिएँ । अहिले आरोप लगाउँछ ।’ शर्माले फोनमा भनिन् । उनले अस्पताल प्रशासनले मण्डलकी छोरीलाई राखेर बुधबार हिसाबकिताब गराइदिएको बताए ।
‘मकहाँ रिपोर्ट आएको थियो । सत्यतथ्य छानविन गरेर रिपोर्ट बुझाउन प्रशासनलाई निर्देशन दिएको छु’, अस्पतालका सहायक निर्देशक डा पशुपति चौधरीले भने, ‘यो विषयमा सत्यतथ्य छानविन हुन्छ ।’