काठमाडौं/विश्व स्वास्थ्य दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

‘उदासीनता रोग : खुलेर कुरा गरौं’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो । आर्थिक संकट, बेरोजगारी, पारिवारिक–सामाजिक द्वन्द्व र असफलताजस्ता कारणले संसारभर उदासीनता रोगका बिरामी बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनकाअनुसार विश्वका ३ करोड मानिसमा उदासीनताको समस्या छ भने नेपालमा १० लाख मानिसमा यो समस्या छ ।दिवसकै अवसरमा शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले मानसिक रोग नियन्त्रणसम्बन्धी नीति बनाउन प्रक्रिया अघि बढाइएको बताए ।

यो नीति लागू भएपछि सबै मानसिक बिरामीको निःशुल्क उपचार गरिने उनको भनाइ थियो ।

सहजै खुसी महसुस गर्न नसक्ने, शरीर गल्ने, छिटो थकाइ लाग्ने, आत्माहत्याको सोच आउने, सहजै ध्यानकेन्द्रित नहुनेजस्ता लक्षणलाई चिकित्सकहरुले मानसिक समस्या भनेका छन् ।