इटहरी/राष्ट्रिय प्रथम पिएलओ अण्डर १९ प्रिमियर लिग क्रिकेट प्रतियोगिता इटहरीमा शूरु भएको छ । डिभीएम स्कुलको खेल मैदानमा जारी उद्घाटनमा पूर्वाञ्चल र सुदुुर पश्चिमाञ्चल टीम विजयी बनेका छन् । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले गरे । यो खेलका आधारमा अण्डर १९ राष्ट्रिय टीम छनौट गरिने उनले बताए । पहिलो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चललाई ३० रनले पराजित गरेको थियो । पहिला व्याटिङमा उत्रिएको पूर्वाञ्चलले २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ५९ रनको लक्ष्य प्रस्तुत गर्यो । पूर्वाञ्चलको लागि सन्दीप ढुङ्गानाले ३२, अंकित सुवेदी ५९ र अभिनाश कर्णले २४ रन बनाए । पश्चिमाञ्चलको लागि अनिल खरेलले ३ विकेट लिए । जवाफी मैदानमा उत्रिएकोे पश्चिमाञ्चलले २० ओभरमा सम्पूर्ण बिकेटको क्षतिमा १२९ रनमात्रै बनायो । पूर्वाञ्चलको लागि खेलको म्यान अफ म्याच मिनच थापाले ४ विकेट लिएको आयोजकले जनाएको छ । यसै गरी आइतबार नै सम्पन्न दोस्रो खेलमा सुदुर पश्चिमाञ्चलले मध्यमाञ्चललाई ७ विकेटले पराजित गरेको छ । पहिला व्याटिङ गरेको मध्यमाञ्चल टीमले १६ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटिएको थियो । मध्यमाञ्चलको लागि सोनु अन्सारीले २८, अब्दुल्ला अन्सारीले २६ रन बनाएका थिए । सुदुर पश्चिमाञ्चलका लागि अमन पन्थीले ३ विकेट र वसन्त कार्कीले २ विकेट लिएको आयोजकले जनाएको छ । जवाफी व्याटिङमा आएको सुदुर पश्चिमाञ्चलले १५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टायो । सुदुर पश्चिमाञ्चलका लागि अजय विष्टले २५ र अयुव चन्दले १४ रन बनाएका थिए । मध्यमाञ्चलको लागि मोहम्मद हुसैनले १ विकेट लिएका थिए । प्रतियोगिता अन्तर्गत सोमबार इटहरी क्रिकेट एकेडेमी र सुदुर पश्चिमाञ्चल तथा दोस्रो खेल पश्चिमाञ्ल र मध्य पश्चिमाञ्चल बीच हुने प्रतियोगिता संयोजक सीपी पौडेलले जानकारी दिए । इटहरी क्रिकेट एकेडेमीको आयोजनामा शूरु भएको प्रतियोगितामा ६ वटा टीमको सहभागिता छ । प्रतियोगितामा पाँच दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रतियोगितामा समुह क तर्फ पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल रहेका छन् भने समुह ख तर्फ मध्यमाञ्चल, सुदुर पश्चिमाञ्चल र इटहरी क्रिकेट एकेडेमी सहभागी छन् । लिग कम नक आउटका आधारमा टि २० फरमेटमा प्रतियोगिता सञ्चालन भइरहेको पौडेलले जानकारी दिए । प्रतियोगितामा विजेताले नगद ५० हजार रुपैयाँ ट्रफि, मेडलसहित प्रमाणपत्र र दोस्रो हुने टीमले नगद ३० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार, वेष्ट व्याट्स म्यानले २ हजार पाँच सय, वेष्ट वलरले २ हजार पाँच सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।