बेलबारी/ बेलबारी क्रिकेट क्लबद्वारा आयोजित पूर्वाञ्चलस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि काँकडभिट्टाको नाईटचेस क्लबले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा सप्तरी ११ ले पहिलो इनिङमा ब्याटिङ गर्दै १५ ओभरमा अल आउट भएर काँकडभिट्टालाई ७२ रनको लक्ष्य दिएको थियो । जसमा काँकडभिट्टा १४ दशमलव २ ओभरमा ७४ रन जोड्दै विजेता बनेको थियो । खेलेको म्यान अफ दी म्याच विक्रम कार्की घोषित भएका थिए । उनले ४ ओभर स्पेल गर्दै ८ रन खर्चेर ४ विकेट हात पारेका थिए । यसैगरी म्यान अफ दी सिरिज काँकडभिट्टाका सन्दीप ढुङ्गाना, वेष्ट बलर विराटनगर होराईजनका मनोज मण्डल र वेष्ट ब्याट्स मेन अङ्कित सुवेदी घोषित भएका थिए । कार्यक्रममा बेलबारीको खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने सातजनालाई सम्मान गरिएको थियो । बक्सिङतर्फ गोवर्धन गुरुङ, ब्याडमिन्टनका विकास श्रेष्ठ, करातेका भीमलाल तामाङ, फुटबलका राजकुमार धिमाल (सिरक), क्रिकेटका भक्तबहादुर लिम्बू र शिव रुपाखेती, भलिबलका भीम बस्नेत सम्मानित भएका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम क्लबका अध्यक्ष विपीन आचार्यको अध्यक्षतामा भएको थियो ।