इटहरी / इटहरीमा राष्ट्रिय प्रथम पिएलओ अण्डर १९ प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलमा सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चल विजयी भएका छन् । इटहरीथित डिभिएम स्कुलको खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सुदूरपश्चिमाञ्चलले आयोजक इटहरी क्रिकेट एकेडेमीलाई ९ विकेटले पराजित गरी समूह ‘ख’ बाट समूह विजेता बनेको छ । विजेता टीम सेमीफाइनलमा प्रवेश गरेको छ । पहिले ब्याटिङ गरेको इटहरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो । जसमा मनिष दाहालले ३४ र विकेश बञ्जरा तथा सिमान्त रेग्मीले १९÷१९ रन बनाएका थिए । सुदूरपश्चिमाञ्चलका लागि सिफ्टीन राज अन्सारीले २ विकेट लिएका थिए । प्रत्युत्तरमा सुदूरपश्चिमाञ्चल टीमले निर्धारत लक्ष ११ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो । जसमा राजन सिंहले १८ र अयुव चन्दले ४३ रन बनाएका थिए । खेलको म्यान अफ दी म्याच सिप्mटीन राज अन्सारी भए । सोमबारनै सम्पन्न दोस्रो खेलमा पहिले ब्याटिङ गरेको मध्यपश्चिमाञ्चल टीमले १८ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५ रनको लक्ष्य दिएको थियो । जसमा सम्सुदिन अन्सारीले ४७ र अजय शाहीले १३ रन बनाएका थिए । पश्चिमाञ्चलका लागि राहुल चौहानले ५ विकेट लिएका थिए । निर्धारित लक्ष्यलाई पश्चिमाञ्चलले १४ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको थियो । जसमा अजय कौशलियाले ३१ र कुशल मल्लले १९ रन बनाएका थिए । खेलको म्यान अफ दी म्याच राहुल चौहान भए । प्रतियोगिताको आइतबार भएको उद्घाटन खेलमा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई ७ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चललाई ३० रनले पराजित गरेको थियो । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले गरेका थिए । प्रतियोगिताबाट अण्डर १९ को राष्ट्रिय टीम छनौट गरिने उनले बताए । इटहरी क्रिकेट एकेडेमीको आयोजनामा शुरु भएको प्रतियोगितामा ६ वटा टीमको सहभागिता छ । इटहरीको डिभीएम स्कुलको खेल मैदानमा हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा टी–२० फर्मेटमा प्रतियोगिता सञ्चालन भएको आयोजक संस्थाका सीपी पौडेलले जानकारी दिए । प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टीमले नगद ३० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार, वेष्ट ब्याट्सम्यानले २ हजार पाँच सय, वेष्ट बलरले २ हजार पाँच सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।