नेइमारलार्इ तीन खेलमा प्रतिबन्ध
- चैत्र ३०, २०७३
- ब्लाष्ट खबर
स्पेनिस लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनालाई गम्भीर धक्का लागेको छ। स्पेनिस फुटबल संघले रेफ्रिमाथि खराब व्यवहार देखाएको आरोपमा उनलाई ३ खेलमा प्रतिबन्ध लगाएको छ।
यसै साता मालागाविरुद्धको खेलमा नेइमारले ६५ मिनेटमा दोहोरो पहेँलो कार्डबापत रातो कार्ड पाएका थिए। उनले रेफ्रिको निर्णयप्रति असन्तुष्टी जाहेर गर्दै मैदानबाट बाहिरिने क्रममा टच लाइनमा चौथो अफिसियल अगाडि ताली पड्काएर खिसी गरेका थिए।
यसलाई स्पेनिस फुटबल संघले अनुशाषनहीन व्यवहार मानेको छ। संघको यो निर्णयपछि नेइमारले रियल म्याड्रिडविरुद्ध अप्रिल २३ मा हुने ‘अल क्लासिको’ भिडन्त गुमाउने छन्। बार्सिलोनामा ४ सिजन बिताइसकेका नेइमारको क्याटलान क्लबमा पहिलो रातो कार्ड थियो। उनलाई रातो कार्डका लागि एउटा खेलमा मात्र प्रतिबन्ध लाग्ने थियो। तर, मैदानबाट बाहिर निस्किने क्रममा चौथो रेफ्रिसँग गरेको व्यवहारका कारण उनलाई ३ खेलमा प्रतिबन्ध लगाउने सिफारिस मुख्य रेफ्रि जेसस गिल मान्जानोले गरेका थिए।
नेइमारले अब रियल सोसिडाड, म्याड्रिड र ओसासुनाविरुद्धको खेल गुमाउने छन्। बार्सिलोनाले उनको प्रतिबन्ध घटाउन संघसँग अपिल गर्ने बताएको छ। नेइमारको कार्ड बार्सिलोनाका कुनै पनि खेलाडीले रातो कार्ड पाएको १०१५ पछि पहिलो पल्ट थियो।