काठमाडौं / च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले वायन म्युनिखलाई २–१ गोल अन्तरले पराजित गरेको छ । वायनको घरेलु मैदानमा मड्रिडका लागि क्रिष्टियानो रोनाल्डोले खेलको ४७ औँ र ७७ औँ मिनेटमा गोल गरे । वायनविरुद्ध दुई गोल गरेसँगै रोनाल्डो युएफा क्लब प्रतिस्पर्धामा एक सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले १ सय ४३ खेलमा सय गोल गरेका हुन् । उनीपछि १ सय १८ खेल खेलेका लियोनल मेस्सीको ९७ गोल रहेको छ । खेलमा २५ औँ मिनेटमा भिडालको गोलमार्फत अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा वायन पराजित भयो । ६१ ओँ मिनेटमा दोहोरो पँहेलो कार्ड पाएर जाभि मार्टिनेज बाहिरिएपछि पनि वायनलाई धक्का लागेको हो । बुधबार राति च्याम्पियन्स लिग क्वाटरफाइनल अन्तर्गत नै एथलेटिको मड्रिडले लेष्टर सिटिलाई र त्यसैगरि मोनाकोले बोरुसिया डर्टमुण्डलाई हराएको छ ।