पाँचथर/ फिदिममा शनिबारदेखि सुरु भएको प्रथम पाँचथर गोल्डकप फुटवल प्रतियोगितामा एपिएफ पुर्वाञ्चलले विजयी सुरुवात गरेको छ । फिदिम माविको खेलमैदानमा सम्पन्न प्रतियोगिताको पहिलो खेलमा आयोजक पाँचथर क्लवलाई २–१ गोलअन्तरले पाखा लगाउँदै एपिएफ क्वाटरफाइनलमा प्रवेश गरेको हो । प्रतिश्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफको १० औं सुशील राईले फ्रि किक मार्फत गोल गर्दै एपिएफले अग्रता लिएको थियो । खेलको १६ औं मिनेटमा पुनः राईले नै गोल गरी अग्रता दोब्बर बनाए । पाँचथर क्लवको लागि खेलको इन्जुरी समयमा एपिएफका गोलकिपर दिल कुमार लिम्बूको गल्तिको फाइदा उठाउँदै नरेश सम्बाहाम्फेले सान्तवना गोल गरेका थिए । खेलको म्यान अफ् दि म्याच एपिएफका जर्सी नम्बर १० सुशील राई बने । प्रतियोगिता अन्तरगत आइतबार रेड हर्स इलाम र डिएफसी मोरङ बीच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।