धनकुटा/ धनकुटामा सञ्चालन भएको यो वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भानु मावि डाँडाबजारले जितेको छ । छात्र भलिबल, छात्र कपर्दी, छात्रा कपर्दी र एथलेटिक्स तर्फ प्रथम स्थान हात पार्दै भानु माध्यमिक विद्यालयले राष्ट्रपति रनिङ सिल्ड जितेको हो । यस पटक सहित लगातर २०७१ र २०७२ सालमा पनि राष्ट्रपति रनिङ सिल्ड जितेको भानु माध्यमिक विद्यालयले यो वर्ष सिल्ड कब्जा गरेको छ । आगमी बर्ष देखि जिल्ला खेलकुद विकास समितिले नयाँ सिल्ड खरीद गरी खेल खेलाउने खेलकुद विकास समितिका कार्यालय सचिव नविन प्रधानले ब्लाष्टलाई बताएका छन् । रनिङ सिल्ड जितेको भानु माविले सवै खेलबाट २३१ अंक प्राप्त गरेको छ । त्यस्तै दोस्रो भएको पुण्य मावि राजारानीले १२८ र तेस्रो भएको कुरुलेतेनुपा माविले ९४ अंक प्राप्त गरेको छ ।

प्रतियोगितमा एथलेटिक्स तर्फ पन्चकृष्ण मावि खोकुका विवेक राई र भानु माविकी विनिता लिम्बु उत्कृष्ट खेलाडी घोषित भएका छन् । त्यस्तै कपर्दी तर्फ भानु माविकै किरणराज लिम्बु र सन्ध्या लिम्बु उत्कृष्ट खेलाडी घोषित भएका छन् । भलिबल तर्फ भानु माविका आशिष मगर र पन्चकृष्ण मावि खोकुकी चन्द्रिका राई उत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

यस्तै कराँते प्रतियोगितामा पुरुष तर्फ ४२ केजीमा शुक्ति राई प्रथम र सुरज राई द्धितिय,४७ केजीमा अंकित चौधरी प्रथम, ५२ केजीमा सुजन राई प्रथम र सौगात राई द्धितिय हुनुभएको छ भने महिला तर्फ ४० केजीमा त्रिवेणी माविका छात्रा सिर्जना थापा प्रथम भएकी छन् । यस्तै लक्ष्मी परियार द्धितिय भएकी छिन् । ४५ केजी तौल तर्फवाट एलिस राई प्रथम, सुदिक्षा श्रेष्ठ र ५० केजी तर्फ कञ्चन राई प्रथम र आयुषा राई द्धितिय भएको कराते प्रशिक्षक डिप्लव राईले वताएका छन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत भएको कराते प्रतियोगतामा विद्यालय तर्फ त्रिवेणी माविले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा विजयी खेलाडी तथा विद्यालयलाई अभिभावक संघका केन्द्रिय उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठ, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष खगेन्द्र घिमिरे, ग्रामिण जनता मध्यमिक विद्यालयका प्रधानाध्यापक टंक भुजेल,जिल्ला खेलकुद विकास समिति धनकुटाका सदस्यहरु गोविन्द खत्री र गोविन्द राईले रनिङ सिल्ड, पुरस्कार, प्रमाण र मेडल वितरण गर्नुभएको थियो । प्रतियोगिता विजेता विद्यालय भानु माविले १५ हजार नगद सहित राष्ट्रपति रनिङ शिल्ड,उपविजेताले नगद १२ हजार र तेस्रो हुने विद्यालयले ९ हजार नगद प्राप्त गरेका छन् ।