भद्रपुर/ झापा जिल्ला खेलकुद विकास समिति झापाले खेलाडीहरुको बन्द प्रशिक्षण कार्यक्रम मंगलवारदेखि सुरु गरेको छ । पूर्वाञ्चलस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा झापाबाट सहभागिता जनाउने खेलाडीहरुको बन्द प्रशिक्षण कार्यक्रम सुरु गरेको हो ।

यही १३ र १४ गते सुनसरीको इटहरीमा हुने पूर्वाञ्चलस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि खेलाडीलाई अग्रिम तयारीका लागि प्रशिक्षण दिएको खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापाले बताए ।

कार्यक्रममा एथलेटिक्स, भलिवल, कवडी, उसु, तेक्वान्दो, कराते खेलमा भाग लिएका छात्रछात्रा दुवै तर्फका खेलाडीलाई प्रशिक्षण दिइने उनको भनाई छ । बैशाख ५ देखि १० गते सम्म सञ्चालन हुने बन्द प्रशिक्षणमा ९८ जना खेलाडी छनौटमा परेको कार्यालय सचिव टहलदास मैनालीले जानकारी दिए ।

खेलाडीहरुलाई झापा जिल्लाका २० देखि २५ जना प्रशिक्षकहरुले प्रशिक्षण दिने उनले बताए । छनौटमा परेका खेलाडीहरु झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम हुने विद्यालयका खेलाडी रहेका छन् ।

विकास समिति झापाका अध्यक्ष थापाको अध्यक्षतामा भद्रपुर उच्च माविमा प्रशिक्षणको उद्घाटन भएको थियो । खेलाडीहरुलाई प्रशिक्षण अवधिभर भद्रपुरका युवा व्यापारी सञ्जीव घोषले खाना, नास्ताको व्यवस्थापन गरेको समितिले जनाएको छ ।