पाँचथर/झापाको बिर्ता युनाइटेड क्लव फिदिममा जारी प्रथम पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार फिदिम माविको खेलमैदानमा सम्पन्न अन्तिम सेमीफाइनलमा २–१ गोलको कठिन जीत निकाल्दै बिर्ता युनाइटेडले उपाधि भिडन्तका लागि एपिएफ पूर्वाञ्चल सँगको भेट पक्का गरेको हो । खेलको नवौं मिनेटमा योगेश गुरुङको गोलबाट १–० ले अगाडि बनेकोे बिर्ता युनाइटेडको अग्रता १७ औं मिनेटमा रेड हर्सका मनिष थापाले गोल गर्दै भङ्ग गरे । कडा प्रतिश्पर्धात्मक खेलमा दुबै टिमले गोल गर्ने केही राम्रा अवशर सदुपयोग गर्न सकेनन् । २१ औं मिनेटमा मनिषको सुन्दर प्रहारललाई बिर्ता युनाइटेडका गोल किपर दिनेश थापा मगरले जाली चुमाउँन दिएनन् । ३५ औं मिनेटमा बिर्ताका विशाल राई ‘ए’ ले गरेको कडा प्रहार रेड हर्सका गोल किपर पूर्ण चेम्जोङले उत्कृष्ठ बचाउ गरे । छिरिङ गुरुङको कप्तानीमा यू–१६ राष्ट्रिय टोलिबाट खेलिसकेका बिदुर रिजाल सहित मैदान उत्रिएको रेड हर्सको तुलनामा बिर्ता युनाइटेडमा राष्ट्रिय टिम सँगै ए डिविजन लिगमा खेल्ने उल्लेख्य खेलाडि थिए । तर पनि जीत निकाल्न भने बिर्तालाई हम्मे परेको थियो । बिर्ताका बुद्ध चेम्जोङ र विशाल राई ‘बी’ ले गोल गर्ने केही अवशर खेर फाले भने देबेन्द्र तामाङ सहितको रक्षापंक्तिलाई रेड हर्सका खेलाडिले दबाबमा राखेका थिए । खेलको ८१ औं मिनेटमा रेड हर्सको डिफेन्सले गोल क्लियर गर्न नसक्दाको फाइदा उठाउँदै विशाल राई ‘बी’ को गोलबाट बिर्ता युनाइटेडले फाइनलको यात्रा तय ग¥यो । शनिबार हुने फाइनल खेलमा एपिएफ पूर्वाञ्चल बिरुद्ध उपाधि चुम्ने लक्ष्य सहित मैदान उत्रिने बिर्ताका टिम ब्यवस्थापक टेकराज तिलिङले बताए । सेमीफाइनलमा आफ्ना खेलाडिले राम्रो प्रदर्शन गरे पनि गोल गर्न नसक्दा नतिजा आफ्नो पक्षमा पार्न निकै कठिन परेको उनले स्वीकारे । आफ्ना खेलाडिले राम्रो मुभ बनाए पनि गोल गर्ने अवशरबाट पटक–पटक चुक्दा हार ब्यहोर्नु परेको रेड हर्स इलामका प्रशिक्षक सेवक राईले प्रतिक्रिया दिए ।