काठमाडौं । स्पेनिस ला लिगाको इएल क्लासिको भिडन्तमा बार्सिलोना विजयी भएको छ । स्पेनिस ला लिगाको उपाधि होडको लागि महत्वपूर्ण मानिएको इएल क्लासिको भिडन्तमा बार्सिलोनाले आइतबार राति १० खेलाडीमा सीमित रियल मड्रिडलाई ३–२ ले पराजित गरेको हो ।
रियल मड्रिडको घरेलु मैदानमा भएको इएल क्लासिको भिडन्तमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई तथा इभान रेकिटिकले एक गोल गरे । जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
रियलका लागि कासमेइरो र जेम्स रोड्रिग्वेजले समान एक एक गोल गरे । सान्टियागो बर्नाबेउमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियल मड्रिड पराजित हुन् पुग्यो । खेलको २८ औं मिनेटमा कासमेइरोले गोलबाट रियल मड्रिडले सुरुवाति अग्रता लिएको थियो ।
तर, खेलको ३३ औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ १–१ को बराबरी भएको खेलको दोस्रो हाफमा भने बार्सिलोनाले अग्रता लियो । खेलको ७३ औं मिनेटमा रेकिटिकले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा खराब ट्याकल गरेपछि रियलका कप्तान सर्जियो रामोसले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित भयो ।
रामोस मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित बनेको रियलका लागि ८५ औं मिनेटमा रोड्रिग्वेजले बराबरी गोल फर्काए । तर, खेलको इन्जुरी समयको दोस्रो मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–२ को महत्वपूर्ण जित दिलाए । रियलविरुद्ध दुई गोल गरेसँगै मेस्सीले यो सिजन ला लिगामा आफ्नो गोल संख्या ३१ औं पुर्याएका छन् ।
इएल क्लासिको भिडन्तमा महत्वपूर्ण जित निकालेसँगै बार्सिलोनाले रियल मड्रिडसँग अंक बराबरी गरेको छ र लिगको शीर्ष स्थानमा उक्लिएको छ । जितपछि बार्सिलोनाले ३३ खेलबाट ७५ अंक जोडेको छ । एक खेल कम खेलेको रियलको पनि समान ७५ अंक छ । तर, रियल गोल आधारमा पछि पर्दै दोस्रो स्थानमा झरेको हो ।