नयाँदिल्ली/हिरो अफ आई लिगबाट नेपाली मुलका भारतीय खेलाडी सुनिल क्षेत्री सम्मानित भएका छन् ।
भारतीय फुटबल संघले प्रदान गर्ने ‘हिरो अफ आई लिग’ बाट उनी सम्मानित भएका हुन् । भारतीय टिम बेङलुरुका स्ट्राइकर क्षेत्रीलाई उत्कृष्ट खेलाडीबाट सम्मानित गरिएको हो । आइलिगमा उनको टिम चौथो स्थान ओगटेको थियो ।
आइ लिगमा सहभागी १० क्लबका प्रशिक्षक तथा कप्तानले क्षेत्रीलाई ‘हिरो अफ आइ लिग’ को उपाधि प्रदान गर्न मतदान गरेका थिए । एजल एफसीलाई उपाधि दिलाएका प्रशिक्षक खलिद जमिललाई उत्कृष्ट प्रशिक्षकको उपाधि प्रदान गरियो ।
मोहन बगानका देवजीत मजुमदार सर्वोत्कृष्ट गोलकिपर, मोहन बगानकै अनस एदाथोडिकालाई सर्वोत्कृष्ट डिफेन्डर, एजल एफसीका अल्फ्रेड केमाह जार्यन सर्वोत्कृष्ट मिडफिल्डर घोषित भए । यस्तै, शिलोङ लेजाङका एसेर पिर्यीक सर्वोत्कृष्ट स्ट्राइकर र डिएसके शिवाजियन्सका जेरी लालरिन्जुएला इमर्जिङ खेलाडीबाट सम्मानित भए ।