काठमाणडाैं/प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत दलको विरोधका बाबजुत प्रधानन्यायाधीश शुशिला कार्की विरुद्धको महाभियोगको प्रस्ताव संसदमा छलफलमा लागि प्रस्तुत भएको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा सभामुख ओनसरी घर्तीले प्रमुख प्रतिपक्षी एमाले लगायत ११ दलका सांसदले गरेको विरोध र नाराबाजीका बीच महाअभियोग प्रस्ताव छलफलका लागि सदनमा पेस भएको जनाउ दिएकी हुन्।

सभामुख घर्तीले व्यापक नाराबाजी र विरोधकाबीच संविधानको धारा १ सय १ को उपधार २ एवं व्यवस्थापिका संसद सञ्चालन नियमावलीको धारा १ सय ६८को उपनियम १ बमोजिम सांसद मिन बहादुर विश्वकर्मा सहित २ सय ४९ जना सांसदले सचिवालयमा दर्ता गराएको सर्वोच्च अदालतका सम्माननिय प्रधानन्यायाधीश सुशिला कार्की विरुद्धको महाअभियोग प्रस्ताव माथि छलफलका लागि व्यवस्थापिका संसद संचालन नियमावलिको नियम १ सय ६८ को उपनियम २ बमोजिम आजै अपरान्ह १ बजे बस्ने गरी स्थगित गरिन्।

सभामुखले बैठक सुरु भएको जनाउ दिए लगत्तै एमाले लगायत ११ दलका सांसदहरुले सो प्रस्तावको विरोधमा नारावाजी गर्दै सभामुखको वेल घेरेका थिए । एमाले लगायतका विपक्षी दलले महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आए पनि सभामुख घर्तीले संसदमा सो प्रस्ताव छलफलका लागि समय तोकेको जनाउ दिएकी हुन्।