लियोनल मेस्सीमाथि चार अन्तर्राष्ट्रिय खेलमा लागेको प्रतिबन्ध हटेको छ । गएको मार्चमा विश्वकप २०१८ को छनौट अन्तर्गत चिलीसँगको खेलमा खेल पदाधिकारीलाई अपशब्द बोलेकोमा मेस्सीमाथि चार खेलको प्रतिबन्ध लागेको थियो । तर विश्व फुटबलको प्रशासकीय निकाय फिफामा मेस्सीले प्रतिबन्धको विरोधमा अपिल गरेका थिए । फिफाको अपिल कमिटीले मेस्सीमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । फिफाको अपिल कमिटीले मेस्सीको व्यवहार कारवाही गर्नुपर्ने खालको नरहेको बताएको छ । प्रतिबन्ध लागेपछि भएको एक खेल मेस्सीले गुमाए । चिलीलाई १–० ले हराएको अर्जेन्टिना त्यसपछि मेस्सी बिना खेलेको खेलमा बोलिभियासँग २–० ले पराजित भयो । प्रतिबन्ध फुकुवा भएपछि मेस्सीले अब विश्वकप छनौट अन्तर्गत उरुग्वे, भेनेजुएला र पेरुसँगको खेल खेल्न पाउने भएका छन् । अर्जेन्टिना रुसमा हुने विश्वकपमा स्थान बनाउनका लागि संघर्षरत छ । मेस्सीमाथि लगाइएको सात हजार ८ सय पाउण्ड स्ट्रर्लिङको जरिवाना पनि फिर्ता भएको छ । विश्वकप छनौट अन्तर्गत चिलीसँग भएको खेलको क्रममा मेस्सीले लाइन्स म्यानलाई अपशब्द बोलेकाले उनीमाथि चार खेलको प्रतिबन्ध लागेको थियो । बोलिभियासँगको हारपछि अर्जेन्टिना १० देश सहभागी दक्षिण अमेरिकी क्षेत्रको छनौटको पाँचौं स्थानमा झरेको छ ।