ताप्लेजुङ/ताप्लेजुङमा शनिबारदेखि खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघको १२ औं वार्षिक उत्सव तथा फुङ्लिङ नगरपालिका स्थापनाको चौंथो वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो ।
फुङ्लिङ नगरपालिका कार्यालयको सहयोग र सहआयोजना तथा जिल्ला ब्याडमिन्टन संघ ताप्लेजुङको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन अन्डर–१५ (पन्ध्र वर्षमुनिका खेलाडी) तर्फ मात्र खेलहरु भएका छन् । पहिलो दिनको खेल खेल्दै मेची सेन्टमेरिज बोर्डिङ स्कुलका मिलिन गुरुङ र लिटलबुद्ध बोर्डिङ स्कुलका डेविट गुरुङ सेमीफाइनलमा पुगेका छन् ।
यस्तै महिलातर्फ ‘ए’ पोलबाट नवज्योती बोर्डिङ स्कुलकी ल्हमु शेर्पा तथा लिटलबुद्धकी दावाफुटी शेर्पा क्वाटरफाइनलमा पुगेका छन् भने ‘बी’ पोलबाट लिटलबुद्धकी नुमा लिम्बू सेमीफाइनलमा पुगेकी छन् । अन्डर–१५ मा पुरुष १६ जना र महिला आठ जना प्रतियोगितामा सहभागी छन् ।
यस्तै खुल्लातर्फ ‘ए’ डिभिजनका अर्थात सिनियरमा २० जना र ‘बी’ डिभिजन अर्थात जुनियरतर्फका ३० जना खेलाडीले सहभागिता जनाएका छन् । खुल्लातर्फ खेल आइतबार बिहान ७ बजेबाट सञ्चालन हुने जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष सुरेश सिङ्घकले जानकारी दिए ।
यता प्रतियोगिताको शनिबार बिहान जिल्ला न्यायाधीश अशोककुकार बस्नेतले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा शुभकामना दिदै जिल्ला न्यायाधीश बस्नेतले प्रतियोगिता आयोजनाले जिल्लाको खेलकुद विकासमा सहयोग पुग्ने अपेक्षा राखे । यस्तै प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले पनि प्रतियोगिता पूर्ण सफलताको कामना गरे । फुङ्लिङ नगरपालिकाका कार्यकारी अधिकृत युवराज ढकाल, पत्रकार महासंघ ताप्लेजुङ शाखा उपाध्यक्ष चन्द्र पन्दाक (प्रयास) लगायतले प्रतियोगिता सफलताको शुभकामना दिएका थिए ।
प्रतियोगिता जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष समेत रहेका शिवकुमार गुरुङको निजी लगानीमा निर्माण गरिएको इन्द्रेणी ब्याडमिन्टन हलमा सञ्चालन गरिएको छ । शनिबार सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न हुने आयोजक जिल्ला ब्याडमिन्टन संघ ताप्लेजुङले जनाएको छ ।