एउटा मानिसको मुखमा बढिमा कतिवटा दाँत हुनुपर्ने हो ? पक्कै पनि ३२ वटा । तर भारतका एक १७ वर्षीय किशोरको मुखबाट भने २३२ वटा दाँत निकालिएको छ । उनको मुखमा अझै २८ वटा दाँत बाँकी छन् । आशिक गावल नामका ती किशोरको मुम्बईको एक अस्पतालमा शल्यक्रिया गरि मुखबाट यति ठूलो संख्यामा दाँतहरु निकालिएको हो । निकै पीडाबाट गुज्रिरहेका ती किशोर सुन्निएका गिँजा लिएर गाउँबाट मुम्बई आएर अस्पतालमा भर्ना भएका थिए । कम्प्लेक्स कम्पोजिट ओडोन्टोमा भनिने निकै दुर्लभ रोगबाट ग्रसित ती बालकको शल्येक्रिया गरिएको हो । डाक्टरहरुका अनुसार यो रोग एक प्रकारको क्यान्सरको अंकुरण जस्तै हो । जहाँ एउटै गिजामा धेरै संख्यामा दाँतहरु पलाउँछन् । डाक्टरहरुले शल्यक्रियाको बेला गिजा फुटाएर दाँत निकाल्दा मोति आकारका दाँतहरु एक पछि अर्को गर्दै बाहिर देखिएका थिए । अस्पतालका डाक्टरहरुले मानिसको मुखबाट यतिधेरै संख्यामा दाँत निकालिएको यो विश्वकै पहिलो रेकर्ड भएको दाबी गरेका छन् । अब छिटै उनका गिजाहरु निको हुने र बाँकी रहेका दाँतहरु कामलाग्ने अवस्थामा आउने डाक्टरहरुले बताएका छन् ।