इटहरी/ प्रदेश नम्वर १ को राजधानी दावी गरिएको इटहरी खेलकुद क्षेत्रको समेत हव बन्दै गएको छ । स्थानीय निकायको निर्वाचनमा राजनीतिक दलहरुले पनि इटहरीलाई स्पोर्टस् सिटीको अवधारणा सार्वजनिक गरेका छन् ।

त्यो भन्दा पनि इटहरीको रंगशाला र अन्यत्र गरी चालू र आगामी आर्थिक वर्ष खेलकुदमा करोडौं रुपैयाँको बजेट विनियोजन भएको छ । राष्ट्रिय खेलकुद परिषद् सहित स्थानीय सहभागिता र स्थानीय निकायको समेत सहयोगमा इटहरीमा यस्ता पूर्वाधार निर्माण हुन थालेका हुन् ।

जिल्ला खेलकुद विकास समिति सुनसरीका कार्यवाहक अध्यक्ष अनुरोध थापाका अनुसार रंगशालामा २ हजार दर्शक अट्ने तेक्वान्दो खेलको इनडोर हल बन्दैछ । यसै गरी कवर्ड हल निर्माणाधिन अवस्थामा छ ।

इटहरीमा ५ वटा कोट भएको व्याडमिन्टन हल निर्माणमा स्थानीयवासीको २५ लाख रुपैयाँ संकलन गरिने छ । १ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने हलमा राष्ट्रिय खेलकुद परिषद्ले १५ लाख रुपैयाँ प्रदान गरिसकेको छ । बाँकी रकम आगामी आर्थिक वर्षमा आउने कार्यवाहक अध्यक्ष थापाले बताए ।

यसै गरी वैठक हल सहितको चेन्जीङ रुम समेत निर्माणाधिन अवस्थामा छ । इन डोर क्रिकेट प्रशिक्षणका लागि ४० लाख रुपैयाँको लागतमा काम अघि बढेको छ भने १५ लाख रुपैयाँ राखेपबाट प्राप्त भइसकेको जनाइएको छ ।

यसै गरी ४ करोड रुपैयाँको लगानीमा वृहत मल्टीप्रपोज भलिवल एकेडेमीको समेत तयारी गरिएको छ । छात्रावास सहितको सो योजनाको डिपिआर तयार भइसकेको कार्यावाहक अध्यक्ष थापाले बताए । रंगलाशालमै २ करोड रुपैयाँको लगानीमा भीआइपी प्याराफिट बन्ने पनि उनले बताए ।

यसै गरी इटहरी –२ को बुढासुब्बा खेल मैदानमा १० लाख रुपैयाँको लगानीमा मञ्च निर्माण शूरु गरिएको छ । तरहरामा कवर्ड हलको लागि १० लाख रुपैयाँ विनियोजन भइसकेको छ भने हाँसपोसामा भलिवल कोटको लागि ५ लाख रुपैयाँ विनियोजन भएको छ ।

साडे ७ कठ्ठा जग्गामा फैलिएको रंगशालामा निर्माण हुने भौतिक पूर्वाधार बाहेक इटहरी आसपासमा पनि खेलकुदमा लगानी बढे पछि खेल क्षेत्र व्यवसायिक हुने खेल सम्वन्ध संस्थाहरु आशामा छन् । इटहरीकै जनता स्कुलको खेलमैदानमा पनि पाँच लाख रुपैयाँको लागतमा क्रिकेट खेल प्रशिक्षण स्थल निर्माण गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

लगानी बढ्दै जाँदा इटहरीलाई स्पोट्स सिटीको रुपमा विकासका लागि पूर्वाधारहरुमा ठुलो लगानी भईरहेकोले इटहरी स्पोर्टस सिटीको रुपमा बिकासहुने सम्भावना बढेको क्रिकेटका प्रशिक्षक सीपी पौडेलले बताए । इटहरीका युवा ब्यवसायीले नीजि लगानीबाट पहिलो पटक अन्तराष्ट्रिय मापदण्ड अनुसारको फुटसल खेल भवन निर्माण पनि निर्माणधिन अवस्थामा छ ।

इटहरीलाई स्पोट्स सिटीको रुपमा विकास गरिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले इटहरी आएका बेला बताउँदै आएका छन् । बिष्ट इटहरीबासी भएकै नाताले पनि पूर्वको उदयमानी शहर इटहरीको पहिचानलाई स्थापित गराउन स्पोट्स सिटीको रुपमा विकास गरिने उनको योजना छ । त्यसो त इटहरीमा पछिल्लो समयमा खेलकुदका ठुला प्रतियोगिताहरु भैरहेका छन ।

७ अाैं राष्टिय खेलकुद् प्रतियोगिताका झण्डै आधा दर्जन खेल इटहरीमा भए । अमेरिकाको पोल्यान्डमा स्थाापना भएको आइओएफटीसीले संस्थाले ११ औैं संस्करणका प्रतियोगिता इटहरीमा गर्ने तयारी गरेको छ । सो प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अमेरिका, क्यानडा, मकाउ, हङकङ, कोरिया लगायतका देशका खेलाडीको सहभागिता रहनेछ ।

यसबाहेक इटहरीमै पटक पटक अन्तराष्ट्रियस्तरको फूटबल, भलिबल, तेक्वान्दो, कराते लगायतका बिभिन्न प्रतियोगिता भए । इटहरीमा रहेको राष्टिय जागृती क्लबले पनि निरन्तर अन्तराष्टिय आमन्त्रणगोल्डकपको आयोजना गरिरहेको छ । इटहरीमा राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिता समेत भएका छन् ।