धरान / कर्मचारीको तलव वृद्धिलगायतको ७ बुदे माग राख्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारीहरुले उपकुलपतिलाई ज्ञापन पत्र बुझाएका छन् ।तीनवर्ष यतादेखि कर्मचारीको तलव वृद्धि नभएको भन्दै कर्मचारीहरुले आइतबार उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा लामो सयमदेखि पद बढुवा नभएको, कर्मचारी स्थान्तरण नभएको, ज्यालादारी कर्मचारीहरुलाई करार गर्नुपर्ने, कर्मचारी समाजको चुनाव चाडै गराउनु पर्ने र आइसियु, डायलसिस सेवा सुधार गर्नुपर्ने माग रहेको कर्मचारी राजन कोइरालाले बताए ।कोइराला कर्मचारी कल्याण समाज तदर्थ समितिका अध्यक्ष समेत छन् ।
तर, प्रतिष्ठानमा निर्वाचित रुपमा कर्मचारी कल्याण समाज पनि रहेको छ । जुनबेला निर्वाचित समाज बनेको थियो त्यसबेलादेखि असन्तुष्ट रहदै कोइरालाले तदर्थ समिति गठन गरेका छन् । तलव हालसम्म पनि नबढाएको भन्दै बाध्य भएर ज्ञापन पत्र बुझाउनु परेको कोइरालाले बताए ।ज्ञापन पत्र बुझ्दै उपकुलपति रौनियारले आफूले प्रतिष्ठानको सेवा सुविधा विस्तार र कर्मचारीहरुको मागलाई यथासम्भव पूरा गर्ने पक्षमा रहेको बताए ।
उनले प्रतिष्ठान कर्मचारी, शिक्षक, चिकित्सकहरुको सहकार्यमै अघि बढ्ने भएकाले उनीहरुको मागप्रति आफू सदैव सकरात्मक रहेको बताए । उनले चाडै समस्याको समाधान तर्फ आफू अघि बढ्ने प्रतिवद्धतासमेत गरेका छन् ।