धरान/परीक्षा शुल्क ७० प्रतिशत बृद्धि गरेको विरोधमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका आमरण अनसनरत दुई विद्यार्थीहरुले अनसन तोडेका छन् । बढेको शुल्क समायोजन हुने गरी इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयले समिति बनाउने सहमति बनेपछि अनसन तोडिएको हो । बिहीबार अपरान्ह २ बजेदेखि नेपाल विद्यार्थी संघका उपसभापति सरोज अधिकारी र अखिल क्रान्तिकारीका उपाध्यक्ष कृष्णराज न्यौपाने आमरण अनसन सुरु गरेका थिए । उनीहरुलाई जुस खुवाएर अनसन तोडाइएको हो । ‘केन्द्रले माग पूरा गरेको पत्राचार ग¥यो ।’ अखिल क्रान्तिकारीका उपाध्यक्ष न्यौपानेले भने, ‘वार्ता समिति बनेको छ उक्त वार्ता समितिले समस्याको समाधान गर्ने भन्ने भएको छ ।’ उनीहरुले बढेको परीक्षा शुल्क फिर्ता नलिएसम्म अनसन जारी राख्ने बताएका थिए । आइतबार उनीहरुको जीवन रक्षाको माग गर्दै विद्यार्थीहरुले र्यालीसमेत निकालेका थिए । क्याम्पस हाताबाट निकालेको र्याली भानुचौक पुगेर टुंगिएको थियो । विद्यार्थीहरुले न्यौपाने र अधिकारीको जीवन रक्षा गर, माफियातन्त्र मुर्दाबादलगायतको नाराबाजी गर्दै भानुचौक पुगेका थिए । यता क्याम्पससँग सम्बन्धित अन्य मागहरुको विषयमा क्याम्पस प्रशासनले पूरा गर्ने प्रतिवद्धता गरिसकेको छ । क्याम्पस प्रमुख जितेन्द्र चौधरीले भने, ‘शुल्कको विषयमा हामीले पूरा गर्न सक्ने अवस्था थिएन् र त्यो विषयमा डिन कार्यालयमा यहाँको विषयमा परिपत्र गरिदिएका थियौं । क्याम्पससँग सम्बन्धित विषयलाई भने हामीले पूरा गर्ने प्रतिवद्धतासँगै काम पनि सुरु गरिसकेका छौं ।’ शनिबार क्याम्पस प्रशासनले स्ववियु सभापतिसहित क्याम्पसका विभिन्न विद्यार्थी संगठनहरुलगायत राजनीतिक दलहरुसँग छलफल गरेर क्याम्पससँग सम्बन्धित विषयको बारेमा सुनुवाई गरिएको प्रमुख चौधरीले बताए । शुल्कको विषयमा पनि डिन कार्यालयमा छलफल चलिरहेको उनले बताएका थिए । परीक्षा नजिकिदै जाँदा इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा नियन्त्रण महाशाखाले क्याम्पसलाई शुल्क बढेको बारेमा पत्राचार गरेको थियो । उक्त पत्राचारको जानकारी पाएपछि विद्यार्थीहरुले पहिलो चरणमा क्याम्पस प्रशासनमा तालाबन्दी गरेको थियो । तर, विद्यार्थीहरुको अध्यापनमा बाधा पुग्ने भन्दै उनीहरुले ताला खोलेर दोस्रो चरण अन्तर्गत आमरण अनसनमा बस्न थालेका थिए । त्यसैको समर्थनमा विद्यार्थीहरुले क्याम्पस हातामा हस्ताक्षर क्याम्पेन पनि गरेको छ । न्यौपाने र अधिकारीको प्राण रक्षाको मागसहित उनीहरुको पनि यस आन्दोलनमा समर्थन रहेको जनाएको छ । झण्डै ७ सयको हाराहारीमा विद्यार्थीहरुले हस्ताक्षर गरेका छन् भने क्याम्पसमा करिव १३ सय विद्यार्थीहरु रहेको छ । आरमण अनसनरत विद्यार्थीहरुका अनुसार ५१० रुपैया परीक्षा सुल्कबाट एकैपटक ९३५ रुपैया पु¥याएको बताएका छन् । उनीहरुले परीक्षा शुल्क नघटाएसम्म अनसन नतोडिने बताएका छन् । परीक्षा सुल्क बढाउने विषयमा भने त्रिभुवन विश्वविद्यालयले चैत्र ११ गते नै निर्णय गरे पनि परीक्षा महाशाखाले भने एकसाता अघि मात्रै आगिंक क्याम्पसहरुमा परिपत्र गरेको थियो । देशभर संस्थान अन्तर्गत चारवटा क्याम्पसहरु रहेका छन् । पूर्वाञ्चल क्याम्पस धरान, पश्चिमाञ्चल क्याम्पस पोखरा, पुल्चोक इन्जिनियरिङ र थापाथली रहेका छन् । अन्य कलेजहरुमा पनि व्यापक विरोधसँगै डिन कार्यालयमा तालाबन्दीसमेत गरिएको विद्यार्थीहरुले बताएका छन् । अनसनरत विद्यार्थीहरुले क्याम्पससँग सम्बन्धित तीनवटा मागहरु राखेका थिए । जसमा क्याम्पसको आर्थिक कारोबार तूरुन्त सार्वजनिक गर्नुपर्ने, क्याम्पस परिषरमा रहेका अव्यवस्थित झाडी तथा रुखहरुलाई व्यवस्थित गर्नुपर्ने र सौचालय साथै खानेपानीको उचित व्यवस्थापन गर्नु पर्ने रहेका थिए ।