खोटाङ/खोटाङका जन्मेदेखि २ वर्ष नपुग्दासम्मका शिशुहरुलाई मासिक १ हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउने निर्णय भएको छ । जिल्लाको दिप्रुङ गाउँपालिकाले प्रत्येक आमा बुवाबाट जन्मिने बढीमा दुई सन्तानका लागि प्रोत्साहन स्वरुप उक्त पोषण भत्ता प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाको अध्यक्ष भुपेन्द्र राईले बताए ।

अध्यक्ष भुपेन्द्र राईका अनुसार गर्भवती महिलाले नियमित रुपमा स्वास्थ्य परिक्षण नगराएको खण्डमा भने उक्त पोषण भत्ता प्रदान नगरिने मापदण्ड बनाईएको छ । भत्ता प्राप्त गर्न गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने राईको भनाई छ । बच्चा जन्मिएपछि बच्चालाई खुवाउनु पर्ने खोप लगाएको तथा भिटामिन खुवाएको शिशुको लागि मात्र पोषण भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ ।

हालै बसेको एक बिशेष बैठकले स्वास्थ्य स्वयम् सेविकालाई मासिक ५ सय दिने तथा ७० वर्ष माथिका वृद्धावृद्धलाई घरमै निशुल्क स्वास्थ्य चेकजाँचको ब्यवस्था गर्ने टुंगो गरेको छ । गाउँपालिकाका विद्यालयहरुमा आफ्नो विषयमा सबैभन्दा राम्रो नतिजा दिलाउन सफल शिक्षकलाई पुरस्कृत गर्ने निर्णय समेत भएको जानकारी गराईएको छ ।