भद्रपुर । भद्रपुरस्थित मेची रंगशालामा आजदेखि झापा जिल्ला एकाडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु हुदैछ । आज हुने उदघाटनखेल सैनिक फुटबल टेनिङ्ग सेन्टर र दमक फुटबल टेनिङ्ग सेन्टर बिच हुने आयोजक समितिले जनाएको छ । असोज २ गतेदेखि ११ गतेसम्म एकाडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिका संयोजक युगलकिशोर राईले बताए । मुनाल क्लव भद्रपुरद्धारा सञ्चालित चन्द्रगढी फुटबल एकाडेमीको आयोजनामा हुने प्रतियोगितामा एकाडेमी स्तरीय १० वटा टिम सहभागि हुनेछन् । जसमा काकरभिटटा फुटबल टेनिङ्ग सेन्टर, पूर्वाञ्चल क्षेत्रीय पुलिस फुटबल टेनिङ्ग सेन्टर, विर्तामोड फुटबल टेनिङ्ग सेन्टर, केर्खा फुटबल टेनिङ्ग सेन्टर, जलथल फुटबल टेनिङ्ग सेन्टर, मंलगबारे फुटबल टेनिङ्ग सेन्टर, एपीएफ दमक र आयोजक चन्द्रगढी फुटबल एकाडेमीले सहभागिता जनाउने छन् । प्रतियोगितामा विजेता टिमले नगद एक लाख १ हजार र उपविजेता टिमले ५१ हजारसहित मेडल, प्रमाणपत्र पाउने समितिका सचिव केशव मैनालीले बताए । खेल मैदान व्यवस्थापन, खेल सामग्री, टिम व्यवस्थापन, प्रचारप्रसार, टफी, मेडल, पुरस्कारसहित खेल सञ्चालन गर्न करिब १० लाख खर्च हुने समितिका कोषाध्यक्ष हिम्मत पाण्डेले बताए । जिल्लामा रहेका विभिन्न फुटबल एकाडेमीमा प्रशिक्षण लिइरहेका खेलाडीहरु बिच प्रतियोगिता गराई अव्बल फुटबल खेलाडी उत्पादन गर्ने उदेश्यले एकाडेमी स्तरीय प्रतियोगिता गर्न लागेको आयोजक समितिले जनाएको छ । साथै विगत ५ बर्षयता मेची रंगशाला भद्रपुरमा कुनै पनि जिल्लास्तरीय फुटबल प्रतियोगिता नभइरहेको अवस्थामा सरकारी स्वामित्वमा रहेको रंगशालाको मुहार फेर्ने पनि आयोजक समितिको लक्ष्य रहेको जनाइएको छ ।