भद्रपुर । जनस्वास्थ्यसंग डेङगू परिक्षण गर्ने किट अभाव भएपछि स्वास्थ्य संस्थाबाट बिरामीहरु रगत परिक्षण नगरी फर्किनु पर्ने बाध्यता बनेको छ । झापा जिल्लामा डेङगू रोग संक्रमण महामारीको रुपमा फैलिरहेको अवस्थामा जनस्वास्थ्यसँग रगत परिक्षण गर्ने किट ल्क्( ज्ञ अभाव भएपछि जाँच गराउन आउने विरामी परिक्षण विना फर्किन थालेका हुन् । गत असोज महिनादेखि विर्तामोडमा डेङगू रोग संक्रमणका बिरामी पहिलो पटक फेला परेका थिए । जिल्लामा डेङगू रोगका बिरामी फेला पर्ने थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले मेची र दमक अस्पतालसहित आफ्ना मातहातका स्वास्थ्य केन्द्रमा निःशुल्क रगत परिक्षण गर्न किट प्रदान गरेका थिए । जनस्वास्थ्यले खरिद प्रक्रियाबाट असोज ६ गते ३ सय किट खरिद गरिएको जनस्वास्थ्यका डेङगू रोग नियन्त्रण शाखाका फोकल पर्सन कुलबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार जनस्वास्थ्य मेची अञ्चल अस्पताल भद्रपुर, क्षयरोग निवारण संस्था भद्रपुरमा रहेको जनस्वास्थ्यको ल्याव, दमक अस्पताल, सुरुङगा प्राथमिक स्वास्थ्य केन्द्र, अनारमनी, शनिश्चरे, धुलावारी, काकँडभिट्टा हेल्थ पोष्टमा रगत परिक्षणका लागि किट पठाएको बताए । डेङगू रोग लक्षण देखिएका बिरामीलाई चिकित्सकले लेखिदिएको पुर्जा हेरेर मात्र बिरामीको रगत परिक्षण गराउँदै आएको फोकल पर्सन पौडेलले बताए । तर, झापामा अहिले मेची अस्पतालसहित अधिकाशं हेल्थ पोष्टमा डेङगू टेष्ट किट अभाव बनेको छ । जनस्वास्थ्यसंग रहेको किट सकिएपछि परिक्षणका लागि जाने बिरामी त्यतीकै फर्किन बाध्य छन् । मेची अञ्चल अस्पतालमा चेकजाँचका लागि जाने बिरामीलाई अस्पतालका चिकित्सकले डेङगू रोग परिक्षणका लागि नजिकै रहेको क्षयरोग संस्थामा खोलिएको जनस्वास्थ्यका ल्यावमा पठाउने गरेको छ । तर, तीन दिनदेखि जनस्वास्थ्यकै ल्यावमा किट छैन । अस्पातलका चिकित्सकले दिनमा ३० देखि ४० जना बिरामीलाई डेङगू परिक्षणका लागि ल्यावमा पठाउने गरेको जनस्वास्थ्यका ल्याव टेक्निसीयन चन्द्रशेखर यादवले बताए । अहिले सम्म यस ल्यावमा डेङगू र मलेरिया गरी लगभग ५ सय बिरामीको परिक्षण गरिसकेको उनले बताए । ल्यावमा तीन दिनदेखि किट नभएपछि बिरामीलाई चिकित्सकले लेखेको पुर्जामा प्रेटलेट (रगतको मात्र) एक लाख भन्दा कम भएमा मात्र परिक्षण गर्न र नत्र पुर्जा हेरेर फर्काइदिने जनस्वास्थ्यबाट जानकारी आएपछि सोही अनुसार काम गर्दै आएको उनले बताए । झापामा अहिले डेङगू टेष्ट किट अभाव रहेको फोकल पर्सन पौडेलले स्विकारे । उनका अनुसार खरिद गरिएको ३ सय किट सकिसकेको अवस्था छ । एउटा किटको मुल्य ५ सय रुपैया पर्ने भएकोले केही समस्या छ । तरपनि झापाका लागि ४ सय किट खरिद प्रक्रियाबाट माग गरिसकेका छौ । दुई सय किट आइपुगेको छ भने, दुई अझै बाँकी रहेको उनले बताए । अहिले मेची, जनस्वास्थ्यको ल्याव र अनारमनीमा किट अभाव रहेको जानकारी प्राप्त भएको उनले बताए । झापामा ५ सय १३ जना डेङगू रोग लागेका बिरामी फेला परिसकेको छ, भने अर्जूनधारामा एक जनाको मृत्यु भइसकेको जनस्वास्थ्यले जनाएको छ । डेङगू रोग फैलिन नदिन अहिले झापाका प्रत्येक नगर तथा गाउँपालिकाले लामखुट्टे मार्ने धुवा छर्किने अभियान पनि सुरु गरिसकेको छ ।