भद्रपुर । नेपालमा प्रतिबन्धित औषधी भित्राउने एक भारतीय नागरिकसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्ने भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला बस्ने २५ बर्षिय जीवन अग्रवाल र सुनसरी धरान उपनगरपालिका ४ बस्ने ३० बर्षिय राजेश अग्रवाल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित १ लाख २५ हजार मुल्य बराबरको औषधि बरामद गरेको प्रहरी कार्यालय झापाका एसपी बिष्णकुमार केसीले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई औषधिसहित औषधी विभाग क्षेत्रीय कार्यालय विराटनगर पठाउने तयारी भइरहेको एसपी केसीले बताए । उनीहरु भारतको पानीटंकी हुदै पूर्वी नाका काँकडभिट्टाबाट औषधीसहित नेपाल प्रवेश गरेको अवस्थामा चेकजाँचको क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले सो नाकाबाट यसअघि पनि दुई जनालाई औषधिसहित पक्राउ गरेको थियो ।