थुप्रैलाई लाग्छ, चुरोट तान्नेहरुमा बढी ‘सेक्स अपिल’ हुन्छ। कतिपय त आकर्षक देखिने लोभमा स्वास्थ्यको ख्याल नगरी धुम्रपान गर्ने गर्छन्। तर हालैको एक अध्ययनले यो मिथकलाई खारेज गरिदिएको छ। ब्रिस्टल युनिभर्सिटीमा गरिएको सो अध्ययनअनुसार वास्तवमा धुम्रपान गर्नेहरुको तुलनामा धुम्रपान नगर्नेहरु बढी आकर्षक हुन्छन् र धुम्रपानले तपाईंको विपरीतलिंगीप्रतिको आकर्षण क्षमता घटाउँछ।

यो अध्ययनमा ५०० व्यक्तिलाई एक धुम्रपान गर्ने र अर्को धुम्रपान नगर्ने जुम्ल्याहाको फोटोमध्ये आकर्षक व्यक्तिलाई छनोट गर्न लगाइएको थियो। यसका लागि २३ जोडी जुम्ल्याहाको फोटो सहभागीहरुलाई छनोट गर्न लगाइएको थियो।

परिणामतः महिला र पुरुष दुवैले धुम्रपान नगर्ने विपरीतलिंगीलाई बढी आकर्षक फेला पारेका थिए।

झण्डै दुई तिहाई पुरुषले धुम्रपान नगर्ने महिलालाई बढी आकर्षक भएको बताएका थिए भने ६८ प्रतिशत महिलाले पनि धुम्रपान नगर्ने पुरुषलाई नै बढी आकर्षक भनेका थिए।

अझ महिलाहरुले ७० प्रतिशत अवस्थामा धुम्रपान नगर्ने महिला आफूलाई बढी राम्रा लागेको बताएका थिए भने ७२ प्रतिशत पुरुषले पनि धुम्रपान नगर्ने पुरुष नै राम्रा देखिएको बताएका थिए।

‘धुम्रपानले अनुहारको आकर्षणमा नकारात्मक प्रभाव पार्नसक्ने कुराको प्रमाण हाम्रो अध्ययनले दिएको छ,’ अनुसन्धानकर्ताहरुल भनेका छन्। उनीहरुले धुम्रपानले सुन्दरता बिगार्ने तथ्यले मानिसहरुलाई धुम्रपान छोड्न सहयोग गर्ने पनि अपेक्षा गरेका छन्।

खासगरी कम उमेरका व्यक्तिहरु आफ्नो स्वास्थ्य भन्दा रुपमा बढी सचेत भएको अवस्थामा यो परिणामले सकारात्मक प्रभाव पार्ने अनुसन्धानकर्ताहरुको अपेक्षा छ।

सन् २०१४ मा गरिएको एक सर्वेक्षेणमा धुम्रपानकर्ताहरुले आफूहरु धुम्रपानका कारण रोगले थला पर्नेभन्दा बढी रुपप्रति चिन्तित भएको बताएका थिए।

यो अध्ययन जर्नल रोयल सोसाइटी ओपेनमा प्रकाशित छ। एजेन्सी