काठमाडाै । अनुगमन भ्रमणको वार्षिक बजेट चार महिनामै समाप्त भएको छ । प्रधानमन्त्री तथा मन्त्रीहरुले चुनाव प्रचारमा गएको खर्चसमेत राज्यकोषबाट उठाएकाछन् ।
उद्योगमन्त्री सुनीलबहादुर थापा, सहरी विकासमन्त्री दिलनाथ गिरी, सहकारी तथा गरिबी निवारण राज्यमन्त्री, चम्पादेवी खड्का, आपूर्ति राज्यमन्त्री सुशीलकुमार श्रेष्ठ र सिँचाइ राज्यमन्त्री अमरसिंह पुनमगरले चुनाव खर्च पनि राज्यकोषबाटै उठाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, उनका सुरक्षाकर्मी र सचिवालयबाट जम्मा ६२ लाख ३९ हजार ८६४ रुपैयाँ खर्च भएको छ ।
सिँचाइ राज्यमन्त्री अमरसिंह पुनमगर प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट कांग्रेस उम्मेदवार थिए । उनले ३ कात्तिकदेखि जिल्लामा चुनावी प्रचारप्रसारमा लागेको र ११ मंसिरमा काठमाडौं फर्किएको बताए । तर, उनले मन्त्रिपरिषदको कार्यालयमा ३ देखि ८ कात्तिकसम्म, १६ देखि १७ कात्तिकसम्म र ११ मंसिरमा रोल्पाको अनुगमन मूल्यांकन भ्रमणमा गएको भन्दै भ्रमण भत्ता र हवाई टिकट खर्चका नाममा दुई लाख ४१ हजार पाँच सय दाबी गरेका छन् । उनले भ्रमण स्वीकृत गराउँदा बाटोमा पर्ने प्युठान, कपिलवस्तु, रुपन्देही जिल्लामा पनि अनुगमनमा गएको उल्लेख गरेका छन् ।
सहरी विकासमन्त्री दिलनाथ गिरी ४ देखि ११ मंसिरसम्म संखुवासभामा थिए । राप्रपाले चुनाव प्रचारका लागि उनलाई मोरङ, सुनसरी, सप्तरी र सिरहामा खटाएको थियो । तर, उनले भाइटीकाको दिन ४ कात्तिकमा जिल्ला अनुगमनमा भएको भन्दै मन्त्रिपरिषदको कार्यालयमा एक लाख ६२ हजार पाँच सयकोे विल पेस गरेका छन् । ४ देखि ११ मंसिरसम्म चुनावमा लागि आफू गृहजिल्ला संखुवासभा गएको उनले बताए ।
उद्योगमन्त्री सुनीलबहादुर थापा लोकतान्त्रिक गठबन्धनका तर्फबाट धनकुटामा प्रतिनिधिसभाको उम्मेदवार थिए । उनले ९ देखि १२ कात्तिक, १५ देखि २४ कात्तिक र २६ कात्तिकमा धनकुटाको अनुगमनमा गएको भनेर प्रधानमन्त्री कार्यालयमा भ्रमण भत्ता र हवाई टिकट खर्चसहित एक लाख ६९ हजार ३ ५० रुपैयाँको बिल पेस गरेका छन् ।
यसैगरी आपूर्ति राज्यमन्त्री सुशीलकुमार श्रेष्ठ निर्वाचनका बेला धनुषा, सर्लाही, महोत्तरीमा खटिएका थिए । उनले पनि १५ देखि १७ कात्तिकसम्म र २८ देखि ३० कात्तिकसम्म ती जिल्लाको अनुगमनमा गएको दाबी गर्दै ८२ हजार नौ सय रुपैयाँको बिल पेस गरेका छन् ।
सहकारी तथा गरिबी निवारण राज्यमन्त्री तथा बाग्लुङ १ मा कांग्रेसकी उम्मेदवार चम्पादेवी खड्काले पनि अनुगमनका नाममा राज्यकोषबाट खर्च माग गरेकी छिन् । उनले ५ देखि ७ कात्तिकसम्म र २६ देखि २७ कात्तिकसम्म जिल्ला अनुगमनमा गएको भन्दै मन्त्रिपरिषदको कार्यालयमा ३७ हजार तीन सय रुपैयाँको बिल पेस गरेकी छिन् ।