[caption id="attachment_69003" align="aligncenter" width="784"] ?[/caption]

पानवारी । धरान–६ स्थित सिमलचौरी खेलमैदानमा भइरहेको तेस्रो पानवारी भलिबल कपमा सेमिफाइनलमा पुग्ने चार टोली छनौट भएका छन् । शनिबार भएको तीनवटा खेलबाट सेमिफाइनलमा पुग्ने टोलिको टुंगो लागेको हो । शुक्रबार नै भएको खेलबाट झापा टाइगर सेमिफाइलनमा पुगिसकेको छ भने शनिबार भएको खेलबाट १ नं. प्रदेश प्रहरी कार्यालय रानी, आयोजक सयपत्री बोइज युनियन क्लब र धरान भलिबल क्लब सेमिफाइनलमा पुगेका हुन् । शनिबार भएको खेलबाट आयोजक सयपत्री बोइज युनियन क्लबले मोरङको त्रिवेणी युवा क्लबलाई पराजीत गरी सेमिफाइनल पुग्न सफल भएको हो । खेलको पहिलो सेट गुमाएको आयोजक टिमले दोस्रो र तेस्रो सेटमा जित निकाल्दै सेमिफाइनल पुग्न सफल भएको हो । पहिलो सेट २५–२० मा गुमाएको आयोजक टिम उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो । खेलको म्यान अफ द म्याच आयोजक टिमका प्रितम मगर घोषित भएका थिए । शनिबार भएको अर्काे खेलमा १ नं. प्रदेश प्रहरी कार्यालय रानीले तरहरा भलिबल क्लबलाई पराजीत गरी सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिस टिमले तरहरालाई सोझो सेटमा पराजित गरी सेमिफाइनल पुगेको हो । पहिलो सेटमा २५–१८ ले पराजित गरेको पुलिसले दोस्रो सेट २५–२२ ले जितेको थियो । खेलको म्यान अफ द म्याच तरहराका सरद राई घोषित भएका थिए । त्यस्तै शनिबार नै भएको अन्तिम क्वार्टर फाइनल खेलमा जित दर्ता गर्दै धरान भलिबल क्लब पनि सेमिफाइनलमा पुगेको छ । धरानले इलामको फुङनाम स्पोर्टीङ क्लबलाई सोझो सेटमा पराजीत गरेको थियो । कमजोर खेल प्रदर्शन गरेको इलाम माथि धरान पुरै हावि भएको थियो । खेलको पहिलो सेट धरानले २५–१७ ले जितेको थियो भने दोस्रो सेट २५–१२ ले सहजै जित हासिल गरेको थियो । खेलको म्यान अफ द म्याच इलामका मौसम लिम्बू घोषित भएका थिए । आज आइतबार पहिलो सेमिफाइनल खेल आयोजक सयपत्री बोइज युनियन क्लब र धरान भलिबल क्लबका बिच हुने र दोस्रो सेमिफाइनल खेल १ नं. प्रदेश प्रहरी कार्यालय रानी र झापा टाइगरबीच हुने आयोजकले जानकारी दिएको छ ।