इटहरी (ब्लाष्ट) इटहरीमा जारी दोसो्र अण्डर १९ इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा शनिबार भएका खेलमा आयोजक इटहरी क्रिकेट एकेडेमी र बिराटनगर बिजयी भएका छन ।

पहिलो खेलमा आयोजक इटहरी क्रिकेट एकेडेमीले नेपालगञ्जलाई ३ विकेटले पराजित गरेको आयोजकले जनाएको छ । इटहरी स्थित डिभिएम स्कूलको खेलमैदानमा शुक्रबार देखि शुरु भएको सो प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालगञ्जले निर्धारित १७ ओभरको खेलमा ९ विकेट गुमाउदै ६० रन बनाएको थियो । नेपालगञ्जका लागी लवकुश यादवले नटआउट १५ रन बनाए । बलिङ तर्फ इटहरीका भुपाल लुइटेलले ३ विकेट तथा पवन सर्राफ र सोनु मण्डलले २–२ विकेट लिए । ६१ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको इटहरीले १२ दशमलव ३ ओभर खेल्दै ७ विकेटको क्षतिमा ६३ रन बनाएर लक्ष्य पुरा गरेको थियो । खेलमा नेपालगञ्जका लवकुश यादव र अजय शहनीले ३–३ विकेट लिएका थिए । त्यस खेलमा म्यान अफ द म्याच इटहरीका भुपाल लुइटेल घोषित भए ।

यसै गरी शनिबारनै भएको दोस्रो खेलमा बिराटनगरले धनगढीलाइ ९ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १ सय २ रन बनाएको थियो । बिराटनगरका लागी फिर्दोश अन्सारीले सर्वाधिक ३४ रन बनाउदा अंकित सुबेदीले ११, दिपेश कंडेल र मुकुन्द यादवले १०–१० रन बनाए । १ सय ३ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको धनगढी १९ दशमलव १ ओभरमा ९३ रनमा समेटियो । धनगढीका लागी बशन्त कार्कीले सर्वाधिक ३५ रन, सागर भण्डारीले २१ र लोकेश बमले १० रन बनाए । बलिङ तर्फ बिराटनगरका म्यान अफ द म्याच फिर्दोश अन्सारीले २, बिवेक यादवले ३ र मिनश थापाले २ विकेट लिएका थिए ।

शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौं र नेपाल गञ्जको टीम विजयी भएको थिए । आइतबारको पहिलो खेल आयोजक इटहरी र भैरहवा तथा दोसो्र खेल धनगढी र काठमाण्डौ बिच हुने आयोजकले जनाएको छ । माघ २ गतेसम्म सञ्चालन हुने सो प्रतियोगताको विजेता टीमले नगद एक लाख रुपैयाँ प्राप्त गर्ने आयोजक टीमका सीपी पौडेलले जानकारी दिए । दोस्रो हुनेले ५० हजार, सर्वोत्कृष्ट खेलाडीले ५ हजार नगद प्राप्त गर्नेछन । यस्तै खेलमा बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले क्रमशः ५–५ हजार नगद प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याच घोषित हुनेले १५ सय रुपियाँ नगद प्राप्त गर्नेछन । प्रतियोगितामा आयोजक इटहरी क्रिकेट एकेडेमी, काठमाण्डौ, विराटनगर, नेपालगञ्ज, भैरहवा र धनगढी क्रिकेट टोलीको सहभागिता रहेको छ । समुह क मा इटहरी, भैरहवा र नेपालगंज रहेका छन भने समुह ख मा काठमाण्डौ, बिराटनगर र धनगढी रहेको आयोजकले जनाएको छ ।