सप्तरी । शितलहरले जनजीवन अत्यन्तै कष्टकर रहेको सप्तरीमा पछिल्लो समयमा शरीर न्यानो पार्न बालिएको आगोमा जलेर लाखौंको धनमाल क्षति भएको छ । चार दिन यता जिल्लाका तीन ठाउँमा भएको आगलागीबाट एक दर्जन घर जलेर खरानी भएका छन् । आगो ताप्दा जलेर चार जना घाइते समेत भएका छन् ।

पछिल्लो पटक रुपनी गाउँपालिका १ मा भएको आगलागीबाट तीन दाजुभाइको ६ वटा घर जलेको छ । शुक्रबार राति भएको आगलागीबाट स्थानीय राजो यादव, रामनारायण यादव र रामविलास यादवको घर जलेको छ । उनीहरुको दुई/दुई वटा घर जलेको हो ।

गोठमा बालिएको घुरबाट राति १२ बजेतिर अचानक आगलागी भएको हो । आगलागीले राजोले घरमा राखेको नगद ७५ हजार रुपैयाँ समेत जलेको छ । आगलागीले ६ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको पीडितको भनाइ छ । आगोलाई राजविराज नगरपालिकाबाट गएको बारुण यन्त्र र स्थानीयहरुले निभाएका थिए ।

शुक्रबार राति नै बेल्ही चपेना गाउँपालिका ३ नर्घाेमा समेत आगलागी भएको छ । आगलागीबाट एक घर र एक गोठ जलेको छ ।

बेल्ही चपेना ३ नर्घाे निवासी ठकाई साहको घरमा आगलागी भएको हो । गोठमा बालिएको घुरबाट सल्केको आगोले गोठसहित उनका एक घर समेत जल्दा दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यसअघि बुधवार राति डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडामा आगलागी भएको थियो । आगलागीबाट गंगाराम पंडित र सियाराम पंडितका एक/एक घर जलेर नष्ट भएका थिए ।

घाइते चारै जनाको सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

अनलाइनखबरबाट