स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर बार्सिलोना सुरुमा दुई गोलले पछि परेर पनि जित्न सफल भएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ ले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा रियल सोसिडाडले सुरुवाति अग्रता लिएर भ्रमण टोली बार्सिलोनालाई दबाबमा पारेको थियो । ११ औँ मिनेटमा विलियम जोसे डा सिल्भाको गोलबाट सोसिडाडले सुरुवाति अग्रता लियो । त्यसपछि पनि उनले गोल गरेका थिए तर फउल भएका कारण रेफ्रीले मान्यता दिएनन् । ३४ औँ मिनेटमा आनमीले गोल गर्दै सोसिडाडको अग्रता दोब्बर पारे । त्यसको पाँच मिनेटपछि पाउलिन्होले बार्सिलोनाका लागि पहिलो गोल गरे । पहिलो हाफमा २–१ ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल गर्यो । लुइस स्वारेजले ५० औँ मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल फर्काए । ७१ औैँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३–२ को अग्रता लियो । ८५ औँ मिनेटमा लियोनल मेस्सीले एक गोल थपेपछि बार्सिलोना ४–२ ले विजयी भयो ।
जितपछि शीर्ष स्थानको बार्सिलोनाको १९ खेलबाट ५१ अंक भएको छ । बार्सिलोनाको दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी ९ छ । बार्सिलोना साबिक विजेता रियल मड्रिड जो अहिले चौथो स्थानमा छ, उ भन्दा १९ अंकले अघि रहेको छ । राति नै भएका अरु खेलमा सेल्टा डी भिगोले लेभान्टे तथा एलाभेसले सेभिल्लालाई समान १–० ले हरायो । यस्तै इस्पानियोल र एथ्लेटिको बिल्बाओले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।