विराटनगर/ राजवंशी समाज उत्थान समिति (विराट) ले विराटनगरमा सम्पूर्ण पूर्वाधार भएकाले यसलाई अविलम्ब राजधानी घोषणा गर्नुपर्ने माग गरेका छन् । उत्थान समिति केन्द्रीय कार्यसमिति मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् ।

परापूर्वकालदेखि यस क्षेत्रमा बसिरहेका विराट राजवंशीले १ नं प्रदेशको नाम विराट प्रदेश हुनुपर्ने विगतदेखि नै माग गरिरहेकामा अहिले घोषणा गर्न सम्पूर्ण राजनीतिक दलसँग उनीहरुले पत्रकार सम्मेलन गरी आग्रह गरे ।

समितिका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले विराट राजवंशी समुदायलाई आदिवासी जनजाति सूचीमा सूचीतकृत गर्न पनि माग गरे । यसैगरी समितिका मोरङ अध्यक्ष प्रदीपकुमार विश्वास राजवंशीले आफूहरुले उठाएका माग पूरा नभएमा आन्दोलन गरिने चेतावनी दिए ।

विरानगर महानगरपालिका र आसपासका गाउँपालिकामा विराट राजवंशीको करिब ५५ हजार जनसंख्या छ ।