पानवारी । तेस्रो पानवारी भलिबल कपको उपाधी १ नं. प्रदेश प्रहरी कार्यालय रानीले जितेको छ । धरान–६ पानवारी स्थित सिमलचौरी खेल मैदानमा मंगलबार भएको तेस्रो पानवारी भलिबल कपको फाइनल खेलमा आयोजक सयपत्री बोइज युनियन क्लबलाई पराजीत गरी पुलिसले उपाधी जितेको हो । उपाधीसँगै पुलिसले नगद रु ५१ हजार सहित ३५ तोला चाँदीको रनिङ ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता भएको आयोजक सयपत्री बोइज युनियिन क्लबले भने ३१ हजार नगद सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक टिमका आतेस मगर घोषित हुदै नगद रु ५ हजार र मेडल प्राप्त गरेका छन् त्यस्तै गरी आयोजक टिमकै तिलक कार्की प्रतियोगिताको उत्कृष्ट स्पाइकर घोषित भए उनलाई नगद रु २ हजार ५ सय सहित मेडल प्रदान गरिएको थियो । त्यस्तै गरी प्रतियोगिताको उत्कृष्ट लिफ्टर आयोजक टिमकै रोशन विक घोषित हुदै नगद रु २ हजार ५ सय सहित मेडल पुरस्कार जितेका छन् भने पुलिस टिमका भिम गाहा मगर प्रतियोगिताको उत्कृष्ट डिफेन्स घोषित हुदै नगद रु २ हजार ५ सय सहित मेडल पुरस्कार जितेका छन् । मंगलबार भएको फाइनल खेलमा पुलिसले आयोजक टिमलाई ३–१ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट पुलिस टिमले २५–१५ ले जितेको थियो भने दोस्रो सेट आयोजक टिमले २५–२३ ले जितेको थियो । एक एक सेट जितेर बराबरी भएको स्थितिमा तेस्रो सेट पुलिसले २५–१९ ले जितेको थियो भने चौथो सेट पनि २५–१६ ले जित्दै प्रतियोगिताको उपाधी जितेको हो । विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य जयकुमार राई, विशेष अतिथि प्रदेश सांसद प्रदिप भण्डारी लगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी जयकुमार राईले स्थानीय स्तरमा रहेको एउटा क्लबले प्रदेश स्तरीय भलिबल कप आयोजना गर्नु भनेको निकै प्रशंसनिय काम भएको बताए । आगामी दिनमा यस्ता प्रतियोगितालाई सांसदको हैसियतले सक्ने सहयोग गर्ने बचनबद्धता समेत सांसद राईले गरेका थिए ।