धरान/डनगिरीमा नाम कमाएका दिपक मनाङेलाई सर्वोच्च अदालतले पाँचवर्षको जेल सजाय सुनाएको छ । मनाङबाट प्रदेश सांसद बनेका मनाङेलाई ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पाँचवर्षको जेल सजाय तोकेको हो । पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले मंगलबार सदर गर्दै सजाय सुनाएको छ । यो सजाय सुनाएसँगै प्रहरीलाई पक्राउ गर्ने बाटोसमेत खुलेको छ । सर्वोच्चका न्यायाधीशद्वय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले मनाङेलाई सजाय तोकेको छ । यो फैसलाका कारण मनाङेको प्रदेश सांसदको पद स्वतः निलम्बनमा परेको छ । उनले हालसम्म सपथ लिएका छैनन् । स्वतन्त्र तर्फबाट मनाङेले जितेका थिए । उनी एमाले निकट मानिन्छन् । उनीविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगमा जेल सजाय सुनाएको हो ।