पाँचथर/ जिल्ला प्रहरी कार्यालय पाँचथरले नयाँ ब्यारेक भवन निर्माण गरेको छ । नव निर्मित भवनको मंगलबार एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक पशुपति उपाध्यायले उद्घाटन गरे ।
भवनको उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरिक्षक उपाध्यायले नागरिक समाजको सहयोग बिना प्रहरी एक्लैले मात्र शान्ति, सु–ब्यवस्था कायम गर्न नसक्ने भन्दै प्रहरीलाई रचनात्मक रुपमा सहयोग पुर्याउन आग्रह गरे । प्रहरी नागरिकका लागि भएको भन्दै उपाध्यायले नागरिकको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको बताए ।
भवन निर्माणका लागि आर्थिक तथा भौतिक योजना महाशाखाबाट दुई करोड ७६ लाख ९६ हजार प्राप्त भएकोमा दुई करोड ६९ लाखमा ठेक्का मार्फ भवन निर्माण गरिएको डिएसपी बामदेव गौतमले बताए । दुई तले उक्त भवनको आर्थिक वर्ष ०७२÷७३ बाट निर्माण कार्य सुरु गरिएको थियो ।
सुत्नका लागि ७० जना अँटाउँन सक्ने उक्त भवनमा किचन र डाइनिङ रुम समेत रहेको बताइएको छ । कार्यक्रममा जिल्लास्थित कार्यालय, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सँगै नागरिक समाजको उपस्थिति रहेको थियो ।