काठमाडौं/नयाँ सरकार गठनको कार्य लम्बिरहेका बेला सरकारले सात प्रदेश राजधानी तोकेर राजनीतिलाई नयाँ गति दिने तयारी गरेको छ। मन्त्रिपरिषद जारी बैठकमा प्रदेश प्रमुखसँगै तिनका अस्थायी राजधानीको नाम समेत प्रस्तावको रुपमा लगिएको छ।

स्रोतका अनुसार प्रदेश एकको राजधानी विराटनगर, दुईको जनकपुर तथा ३ को ललितपुर वा भक्तपुर प्रस्ताव गरिएको छ। यसैगरी प्रदेश चारको पोखरा, पाँचको बुटवल, छ को सुर्खेत एवं सातको धनगढीलाई अस्थायी राजधानी तोक्न प्रस्ताव गरिएको छ।

अनिश्चितकालीन दाङ बन्द

सरकारले प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा दाङ तोक्ने निर्णय गर्नसक्ने देखिएपछि दाङमा आन्दोलन चर्किएको छ। दाङलाई प्रदेश राजधानी बनाउनु पर्ने भन्दै बुधबार बिहानैदेखि आन्दोलनकारीले जिल्ला ठप्प पारेका छन्। बन्दका कारण दाङको यातायात, शिक्षण संस्था, बजार ठप्प छन्। दाङबाट बाहिरिने र भित्रिने कुनै पनि सवारी साधन चल्न सकेका छैनन्। बन्दका कारण पूर्व पश्चिम महेन्द्रराजमार्ग ठप्प छ। देउखुरीस्थित लमहीमा आन्दोलनकारीले राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन्। राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन्।

नेपालखबर