अनमोलले आफू सुत्ने कोठा आफ्नै कमाइले सजाएका छन् । उनको कोठामै मिनी किचेन छ । घरको ग्राउन्ड फ्लोरमा व्यायाम गर्ने ठाउँ । अनमोल घरमा बस्दा सामान्य लुगा लगाउँछन् । उनलाई ब्रान्डप्रति कति पनि आशक्ति छैन । बस्, आफूलाई सुहाउँदो लुगा भए पुग्छ । उनी लुगाको उस्तो सौखिन पनि होइनन् ।
अहिलेको टिनएजर्सका लागि उनी स्टाइल आइकन हुन् । जबकि, अनमोल स्वयं भने स्टाइलमा रुचि नभएको बताउँछन् । उनी फेन्सी ड्रेसअप रुचाउँदैनन् । भलाद्मी शैलीको पहिरनमा ठाँटिन्छन् । अक्सर हुड लगाउँछन् । जिन्स पहिरिन्छन् ।
उनलाई ड्रेसअप गर्न १० मिनट काफी हुन्छ । र, मेकअप गर्न पाँच मिनट । १६ मिनटमा उनी रेडी हुन्छन् । रेडी भइसकेपछि एक पटक पिता भुवन केसीलाई देखाउँछन् । भुवनले ‘ओके’ भनेपछि पुग्छ ।
अनमोल बाइक राइडिङमा निस्किन्छन् । उनको आफ्नै ग्रुप छ । कहिले बन्दीपुर त कहिले सिन्धुपाल्चोकतिर बत्तिइरहेका हुन्छन् । उनीसँग तीन वटा बाइक कलेक्सन छ, यामाहाको फेजर, डुकाटी मोन्स्टर र बेनेलीको लेटेस्ट ।
अनमोल दिउँसो बानेश्वरको एक फ्रुट सपमा जुस र फलफूल खान पुग्छन् । यद्यपि, त्यस वरपरकाले उनलाई ठम्याउन सक्दैनन् । किनभने, उनको टाउकोमा हेलमेट हुन्छ, अनुहारमा माक्स ।
अनमोल स्टाइलका लागि चस्मा लगाउँदैनन् । नांगो आँखा नै ठीक लाग्छ । घाम र धूलोबाट बचाउन मात्र सनग्लास लगाउँछन् । घडी बाँध्ने, सिक्री झुण्ड्याउने सोख पनि छैन । साथीहरुले पुस्तक उपहार ल्याइदिन्छन्, उनी पढ्न अलि अल्छी गर्छन् ।