अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मानसिक र शारीरिक स्वास्थ्यमाथि प्रश्न उठिरहेको बेला ह्वाइट हाउसका चिकित्सकले उनको स्वास्थ्य अवस्था ठीक रहेको बताएका छन्।
ट्रम्प सबै हिसाबले राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्न सक्षम रहेको उनका डाक्टर रोनी ज्याक्सनले बताएका छन्। गत साता ७१ वर्षीय ट्रम्पको तीन घण्टा लामो स्वास्थ्य परीक्षण गरिएको थियो।
हालै सार्वजनिक भएको एक पुस्तकमा ट्रम्पको मानसिक स्वास्थ्य ठीक नभएको दाबीपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो। केही अस्वस्थ जीवनशैली अपनाए पनि उनको वंशाणुका कारण उनी स्वस्थ रहेको ज्याक्सनले बताए। ट्रम्पको समग्र स्वास्थ्य ‘उत्कृष्ट’ रहेको भन्दै ज्याक्सनले उनको मुटु पनि उत्तम अवस्थामा रहेको बताए।
‘उनको संज्ञानात्मक क्षमताप्रति मलाई कुनै चिन्ता छैन,’ ज्याक्सनले भने। उनले संज्ञानात्मक परीक्षणमा ३० मा ३० अंक हासिल गरेको पनि उनले बताए। ‘मैले राष्ट्रपतिलाई स्वस्थ खानपान गर्ने हो भने तपाईं २०० वर्ष बाँच्न सक्नुहुन्छ भनेँ,’ ज्याक्सनले मजाक गर्दै भने।
‘निश्चय नै उहाँ आफ्नो कार्यकालभर जिम्मेवारी पूरा गर्न सक्षम हुनुहुन्छ र फेरि निर्वाचित भए अर्को कार्यकालका लागि पनि सक्षम रहनुहुनेछ,’ उनले भने। एजेन्सी