धरान/आठ अण्डर ६२ खेल्दै एमेच्योर गल्फर विरेन्द्रबिक्रम लिम्बूले चौथो इन्द्र बराह स्मृति एमेच्योर खुल्ला गल्फ टुनामेन्टको उपाधि जितेका छन् । धरान गल्फ क्लवको आयोजनामा धरानको निर्वाणा कन्ट्री क्लव तथा गल्फ रिसोर्टको १८ होल पार ७० को गल्फ कोर्षमा २३ हेण्डिक्यापका लिम्बूले उपाधि उचालेका हुन् । उत्कृष्ट प्रदर्शन गरेका लिम्बूको ४ हेण्डिक्यापसमेत घटेको छ । उनले ट्रफीसहित १० हजार रुपैया बराबरको गिफ्ट भौचर प्राप्त गरे । ३ हेण्डिक्यापका हरिबहादुर राई ३ अण्डर ६७ स्कोर गर्दै फष्ट रनर अप बन्दै ट्रफी र ६ हजार रुपैया बराबरको गिफ्ट भौचर प्राप्त गरे । राईको पनि १ हेण्डिक्याप घटेको छ । एक स्ट्रोकले पछि परेका १८ हेण्डिक्यापका रविन राई सेकेण्ड रनर अप बने । उनले २ अण्डर ६८ खेल्दै ट्रफीसहित ३ हजार ५ सय रुपैया बराबरको गिफ्ट भौचर प्राप्त गरे । रविनको पनि एक हेण्डिक्याप घटेको छ । धरानको हेण्डिक्याप कमिटीले खेलको उत्कृष्टताको आधारमा उनीहरुको हेण्डिक्याप घटाएको हो । युवराज भुजेलले ३ ओभर ७३ खेल्दै बेष्ट ग्रसको उपाधि जिते । उनले ४५ सय रुपैया बराबरको गिफ्ट भौचर प्राप्त गरे । स्ट्रोक प्लेको आधारमा भएको खेलमा नियरेष्ट टु दि पिनमा मेजर डिवी राई बने । उनले ८ औं होलमा नियरेष्ट टु दी पिन गरेका थिए । त्यस्तै लगेष्ट ड्राइभको टाइटल बिक्रम राईले जिते । २७० यार्ड स्ट्रोक गर्न सफल उनले १८ औं होलमा गरेका थिए । खेलको मोष्र्ट बर्डि निरज तामाङ घोषित भए । उनले पार ७० मा ४ वटा होलमा बर्डी गर्न सफल भएका थिए । सिनियर विजेता तर्फ मेजर एमवि लिम्बू घोषित भए । त्यस्तै बेष्ट स्पोर्टस् मेन सिपको उपाधि झुना राईलाई प्रदान गरियो । उनी ३७ एमेच्योर गल्फर स्पर्धामा एक्ली महिला गल्फर हुन् । इन्द्र स्पेशल बर्डीको उपाधि यसपटक तोडिएको छ । तेस्रो संस्करणसम्म कसैले नजितेको उपाधि यो पटक गल्फर तिलक राईले तोड्दै नगद ५ हजार रुपैया जिते । उनले पार ३ को ५ औं हालेमा बर्डी गरेका थिए । अन्य टाइटल विजेतालाई ट्रफीसहित २ हजार रुपैया बराबरको गिफ्ट भौचर प्रदान गरियो । विजेताहरुलाई धरान नगर प्रमुख तारा सुब्बा, बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका सञ्चालक विष्णुमाया लामिछाने, बराह धरान शाखाका बरिष्ठ प्रशासकीय अधिकृत एवम् कार्यबाहक प्रमुख गंगा कालिकोटे, गल्फ क्लवका अध्यक्ष पूर्ण लिम्बूलगायतले पुरस्कार वितरण गरे । स्वर्गीय इन्द्र लामिछानेको स्मृतिमा १५ वर्षे सम्झौता अनुरुप प्रतियोगिता गराइएको हो ।